
काठमाडौं : नवौं राष्ट्रिय खेलकुद आयोजना हुने मिति नजिकिँदै गएको छ। फागुनमा सञ्चालन हुने भनिएको प्रतियोगिताको मिति जति नजिकिँदै छ त्यति नै महामारीबीच प्रतियोगिता होला कि नहोला भन्ने द्विविधा पनि थपिँदै गएको छ। कोभिड १९ को वर्तमान अवस्था र आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तयारी नपुगेको अजस्थामा तय मितिमा नै प्रतियोगिता नहुने लगभग पक्का भइसकेको छ। यद्यपि, आधिकारिक घोषणा भने हुन बांकी छ।
लामो लकडाउनले घरमै थुनिएका खेलाडीहरु सबै खेलमा फर्किसकेको छैनन्। सरकारले खेल गतिविधि संचालनका लागि अनुमति दिएको धेरै पनि धेरै भएको छैन त्यसैले सबै खेलको प्रशिक्षण हुनसकेको छैन। त्यसमाथि कोरोनाकाल सकिए कै छैन।
यस्तो अवस्थामा नवौं राष्ट्रिय खेलकुदलाई निर्धारित मितिमा गराउन सकिने अवस्था नभएको बताउँछन् नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ।
' राष्ट्रिय खेलकुद आयोजना विषय अहिले महामारीका कारण अफ्ठ्यारोमा परेको छ। हामीलाई महामारीले अझै छाडेको छैन। राष्ट्रिय खेलकुद पर्व हो। यसलाई झारो टार्ने गरि भन्दा पनि प्रतिभा खोज्ने गरि अघि बढाउनुपर्ने हुन्छ।' बुधवार राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा श्रेष्ठले भने।
कोरोनाविरुद्ध भ्याक्सिनको चर्चा चले पनि नेपालमा त्यो आइपुग्न समय लाग्ने भन्दै फागुनमै राष्ट्रिय खेलकुद गराउन तयारी नपुग्ने उनको तर्क छ।
'फागुनमा गराउँदा यसको गरिमा कायम नहुन सक्छ। खेलको वातावरण बनाउन समय लाग्छ। अहिले त्यो स्थिति बनिसकेको छैन।' उनले भने, ' भ्याक्सिन आईपुग्न अझै समय लाग्छ। अलि समय सारेर उपयुक्त समय मिलाएर गर्न आवश्यक छ। यसलाई एउटा महोत्सवको रूपमा आयोजन गर्न आवश्यक छ।'
त्यस्तै राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल नवौं राष्ट्रिय खेलकुदका आफूले परामर्श अघि बढाएको बताउँछन्। यसको लागि पर्याप्त समय आवश्यक पर्ने भन्दै सिलवालले पनि निर्धारित मितिमा प्रतियोगिता आयोजना गराउन नसकिने बताए।
लकडाउनका कारण खेलाडीहरु लामो समय अभ्यासबिहिन भएकाले तयारीका लागि लामो समय दिनुपर्ने तर्क छ सिलवालको। कोभिड महामारीका बीचमा पनि अभ्यास गराउनका लागि प्रयास गरेको भन्दै सिलवालले अब भने हेल्थ प्रोटोकलको पालना गर्दै अभ्यास अघि बढाउने बताए।
'अब अभ्यास संचालनका लागि राखेपको या मन्त्रालयको निर्देशन आएन भनेर कुर्नु पर्दैन।' सिलवालले भने।
नवौ राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधारको सन्दर्भमा केही खेललाई छाडेर अन्यमा समस्या नभएको भन्दै पूर्वाधारका कारण अभ्यास नरोकिने बताए। बरु यसपटक छनोटमा बढि समय खर्चने योजनामा रहेको उनले बताए।
'खेलकुद भनेको माहोल बनाउने हो। यसले खेलमा माहोल बनाउनु पर्छ। र, दर्शकबिना यो कल्पना गर्न सकिन्न,' घुमौरो पारामा निर्धारित मितिमा नवौं गर्न नसक्ने संकेत गर्दै सिलवालले भने, 'हामीले प्रतियोगिता थाल्दा महामारीको कारण नबनोस भन्नेमा पनि ध्यान पुर्याउनु पर्छ।'
के भन्छन् खेल संघ?
खेल पदाधिकारीहरुले राष्ट्रिय खेलकुद नहुने बताइरहँदा अधिकांश खेल संघहरुले भने आफूहरु प्रतियोगितामा सहभागी हुनका लागि तयार भएको दाबी गरिरहेका छन्। केही संघहरुले भने प्रशिक्षण नपुगेको कारण प्रतियोगिता पछि सरे राम्रो हुन्थ्यो भन्ने मनस्थितिमा देखिन्छन्।
नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले दक्षिण एसियाका अन्य देशहरुमा भलिबल सुरु भइनसकेको बताउँदै संघले चाँडै योजना राखेपमा पेश गर्ने बताए।
'भलिबल संघ प्रतियोगिताका लागि त तयार छ। तर अझ तयारी अघि गरेर कार्यक्रम गर्दा उपयुक्त होला भन्ने म ठान्छु' उनले भने।
यता, स्वीमिङका महासचिव जगतमान श्रेष्ठको तर्क पनि उस्तै छ। उनी यही अवस्थामा पोखरामा प्रतियोगिता गराउन सकिए पनि पूर्वाधारको अवस्थाका कारण खेलाडीहरुले राम्रो प्रदर्शन गर्न नसक्ने अवस्था रहेको बताउँछन्।
'प्रतियोगिता गर्न सकिन्छ। तर, पौडीबाट प्रदर्शन राम्रो हुन्न।काठमाडौंमा नै प्रतियोगिता भए ठीक छ तर पोखरामा पौडी खेलर मात्र आउने हो।' उनले भने।
त्यस्तै, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले भने आफूहरुले प्रशिक्षण सुरु गराइसकेको बताउँदै राष्ट्रिय प्रतियोगिताका लागि प्रस्ताव आउन थालेको बताउँछन्।
'ग्रिन सिग्नल आएको छ। हामी अझ सशक्त हुनेछौं। नवौका लागि बक्सिङ तमतयार हुँदैछ। हामी आउने छौं।'
अर्कोतर्फ जुडोको व्यथा फरक छ।
जुडो कन्ट्याक्टको खेल भएकाले अझै अभ्यास सुरु गराउन चुनौती भएको बताउँछन् जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ। त्यस्तै जुडोका लागि अभ्यास हल, प्रशिक्षक र संरचनामा अझै समस्या रहेको उनले बताए।
उता महामारी पछि अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत सहभागिता जनाइसकेको फुटबलबारे उपाध्यक्ष उपेन्द्रमान सिहं उत्साहित सुनिन्छन्।
'मैत्रीपूर्ण खेल खेल्न पाउँदा सकारात्मक सन्देश गएको छ। बी र सी डिभिजन चाँडै सुरु गर्नु पर्छ भनेर बहस अघि बढाएका छौं,' उनले भने, 'राष्ट्रिय टिमलाई विश्वकप क्वालिफायर्सका लागि तयार गर्नुपर्छ। बंगलादेशमा प्रदर्शन राम्रो भएन। त्यसैले २७ गतेबाट प्रशिक्षण सुरू गर्दैछौ।'
त्यस्तै कराँते महासंघका सहमहासचिव ओमकृष्ण प्रसाइले निर्धारित मितिमै राष्ट्रिय खेल भए आफूहरु तयार रहेको दाबी गर्छन्। यद्यपि, संघमा भएको विवादले कराँते समस्यामा परेको उनको तर्क छ। यसका लागि कराँते संघलाई निकास दिनुपर्ने माग उनले राखेका छन्।
के छ पोखराको तयारी?
नवौ राष्ट्रिय खेलकुदको चर्चा गरिरहँदा गण्डकी प्रदेश निर्धारित मितिमै पनि प्रतियोगिता आयोजना गर्न तयार रहेको राखेपका बोर्ड सदस्यसमेत रहेका पोखराका राजेश गुरुङले बताए।
'गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुदबारे कुरा भएको थियो। मुख्यमन्त्रीलगायत सबैसँग कुरा भइरहेको छ। प्रतियोगिता आयोजनाका लागि पनि प्रदेश तयार,' उनले भने, 'समयमा प्रतियोगिता भएन भने अर्को मंसिरमा गर्नुपर्छ।'
सबै खेलकुद पदाधिकारी र संघहरुको कुरा सुनेपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले भने, 'कोरोनाको जोखिम कम हुँदै गएपछिको अवस्थामा परिषद्को आगामी बैठकबाट थप निर्णय हुनेनै छ।'