PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

विदेशी बल र सेनाबाट राजसंस्था स्थापित हुँदैन : कमल थापा



पहिलोपोस्ट

विदेशी बल र सेनाबाट राजसंस्था स्थापित हुँदैन : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरि राजादेखि बिप्लव माओवादीसम्म अट्ने राज्य ब्यबस्था आबश्यक भएको बताएका छन्।

आज हेटौंडामा पार्टीको चुनाव चिन्ह "हलो" तथा झण्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाको निमित्त सर्बपक्षीय सम्मेलन हुनुपर्ने माग गरे। उनले नेपाली जनताको अभिमतबाट, राजनीतिक दलहरुको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्ने स्पष्ट पार्दै विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने बताए। नेपाली जनता, राजनीतिक दल,नागरिक समाज र बुद्धिजीवीहरुको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्न थापाले जोड दिए।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर बिषय बुझ्दै गएको बताए। राजसंस्था र हिन्दूराष्ट्रको माग राखी देशब्यापी जनप्रदर्शन भएकोमा थापाले खुशी प्रकट गरे।

राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे। मुलुकमा बिकृती, बिसङ्गती, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको भन्दै संवैधानिक अंग, न्यायालय, प्रहरी प्रशासनमा देखिएको सेटिङ, प्रभाव, हस्तक्षेपको तीब्र आलोचना गरे। राप्रपालाई मुलुकको बैकल्पिक शक्ति बनाउन जनताको सहयोग आबश्यक भएको भन्दै संगठन सुदृढीकरणमा लाग्न थापाले कार्यकर्तालाई निर्देशन दिए।

परिवर्तन पछि राजा ज्ञानेन्द्रको शालिन र मर्यादित भूमिका र व्यबहारको पनि थापाले खुलेर प्रशंसा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell