PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मोरङमा तस्करीको नयाँ नाका रङ्गेलीको चोपरा, नेपाल प्रहरी छाड्ने-सशस्त्र पक्रिने



अनन्तराज न्यौपाने

मोरङमा तस्करीको नयाँ नाका रङ्गेलीको चोपरा, नेपाल प्रहरी छाड्ने-सशस्त्र पक्रिने

विराटनगर : मोरङ प्रहरीले विराटनगरको एक गोदामबाट ठूलो मात्रामा कपडा बरामद गरेको छ। मोरङको दक्षिणपुर्वी क्षेत्रबाट हुने तस्करीको संरक्षण गरिरहेको आरोप लाग्दै आएको प्रहरीले ठूलो मात्रामा तस्करी गरेको कपडा बरामद गरेको हो।

'मोरङ प्रहरी तस्करीका विरूद्ध छ' भन्ने ध्यानाकर्षण र प्रचार गराउन गोदाममा छापा मारिएको दाबी जानकारहरूले गरेका छन्।

विराटनगरको जलजला मोडस्थित ह्वाइट हाउसको गोदामबाट प्रहरीले बिहिवार दिउँसो छापा हानेर ७६ पोकाभन्दा बढी परिमाणमा कपडा बरामद गरेको हो।

अवैध रूपमा कपडा ल्याएर राखिएको सुराकीका आधारमा कपडा बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता मानबहादुर राईले बताए।

मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा गएको टोलीले सो कपडा बरामद गरेको थियो।

प्रवक्ता राईका अनुसार बरामद कपडा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङमा थप अनुसन्धानका लागि राखिएको छ। कपडाको गणना गरिसकेपछि आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा चलान गरिनेछ।

ह्वाइट हाउसका सञ्चालक वरुण शाहले आफ्नो गोदाममा रहेका कपडा अवैध नभएको भन्दै प्रहरीले समग्र व्यवसाय र व्यवसायीलाई नै हतोत्साहित गराउन शैलीमा कपडाको बरामद गरेको प्रतिक्रिया दिए।

नयाँ नाका चोपरा

मोरङको दक्षिणपूर्वी क्षेत्रमा सशस्त्र प्रहरीले तस्करीका सामान पक्रने र नेपाल प्रहरीले तस्करीको संरक्षण गर्ने आरोप लाग्दै आएको छ।

सिमाना सिल गरिएका बेला पनि रङ्गेलीको चोपरा नाकाबाट ट्रयाक्टरमै लोड गरेर एक महिनादेखि धमाधम मटर, सुपाडी, मरिच र छोकडा तस्करी भइरहेको छ।

सशस्त्र प्रहरीले चोपरा नाका कटाउँदै लगेका अवस्थामा एक ट्रक हरियो मटर पक्राउ गरेपछि तस्करले चोपरालाई नयाँ नाकाका रूपमा उपयोग गर्न थालेको रहस्य खुलेको हो।

यसअघि मोरङको नोचा नाकाबाट प्रहरीका संरक्षणमा तस्करी भइरहेका खबरहरू प्रकाशित भएपछि प्रहरी र तस्करका मिलेमतोमा नाका परिवर्तन गरिएको स्रोतको दाबी छ। नोचा नाकालाई सशस्त्रले कडा बनाएका कारण चोपरा नाकालाई तस्करले उपयोग गर्न थालेका हुन ।

मे १ त २५५ नम्बरको ट्रयाक्टरमा अनधिकृत रूपमा भारततर्फ लगिँदै गरेका अवस्थामा सशस्त्र प्रहरीले १ सय ५३ बोरा मटर बरामद गरेको थियो। एक बोरामा २५ किलोग्राम मटर राखिएको सशस्त्र प्रहरीका एसपी तीर्थ पौडेलले बताए।

बरामद गरिएको मटर राजेश शाह नामका व्यक्तिको भएको र उनैले सीमा कटाउन खोजेको सशस्त्र प्रहरीको दाबी छ।

निज शाह सीमानजिकै धानको काँटा राखेर धान खरिद गर्ने व्यवसाय गर्छन्। धानको सिजन भएकाले र नेपालमा धानको राम्रो मूल्य पाइने हुँदा भारतका कृषक र व्यवसायी धान बिक्री गर्न सीमा क्षेत्रमा नेपालकै काँटामा ल्याउने गर्छन्। यसरी भारतबाट त्यही ट्रयाक्टरमा धान ल्याउने र त्यही ट्रयाक्टरमा मटर, छोकडा आदिको तस्करी चलाउने दोहोरो धन्दा शाहले गरेको पाइएको छ।

प्रदेश नम्बर १ का प्रदेश प्रहरी कार्यालयका डिआईजी ईश्वरबाबु कार्कीले प्रहरीले गाउँगाउँका सीमा नाकामा कडाइ गरेको दाबी गरे। उनले सीमानिर कसैले तस्करी गर्ने उद्देश्यले मालवस्तु भण्डारण गरेको रहेछ भने त्यसलाई पनि बरामद गरी घरधनीलाई पक्राउ गरिने चेतावनी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell