PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

९ महिनापछि खुलेको चिडियाखाना पुगेका गंगाध्वज को चासो : यी गैँडा के खाँदा हुन्?'

९ महिनापछि खुलेको चिडियाखाना पुगेका गंगाध्वज को चासो : यी गैँडा के खाँदा हुन्?'

प्रवीण रानाभाट/पहिलोपोस्ट


'ए नानी के खान्छन यिनीहरुले...घाँस पनि छैन'

ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना पुगेका गंगाध्वज राई पहिलोपटक गैँडा देखेर आश्चर्य मान्दै भन्दै थिए।

'यति ठूलो हुने रैछ। अघाउन्जेल खाना पनि पाउँदैन  होलान्,' यति भन्न नपाउँदै छोरी सुनममायाले उनलाई चिडियाखानामा जनावरको हेरचाह गर्न मानिसहरु खट्ने बारेमा बुझाइन्।

कोरोना संक्रमणका कारण करिब ९ महिना बन्द रहेको चिडियाखानाको गेट बिहीवारबाट सर्वसाधरणको लागि खुल्यो। महिनौं घरभित्रै थुनिएका ७६ वर्षीय गंगाध्वज र श्रीमती सुबिको पहिलोपटक काठमाडौं आएका थिए। त्यसै अवसरमा महिनौं बन्द रहेको चिडियाको पहिलो अनुभव गर्न जावलाखेल पुगेका थिए राई परिवार।

गंगाध्वज लागि चिडियाखानामा रहेका अधिकांश जनावर र चरा चुरुङ्गी नयाँ थिए। महिनौंपछि मानिसहरुको उपस्थिति देख्न पाएका जनावरहरुसँग आफ्नै तालमा कुरा गर्दै घुम्दै थिए।

हिँड्दा हिँड्दै उनको नजरमा पर्‍यो चिम्पान्जी।

'भगवान्, हामी टाढादेखि आयौं। वनमान्छे, एक पटक नाच देउन्' भन्न भ्याए।

पहिलोपटक यति धेरै जनावर एकसाथ देखेका गंगाध्वजले भने, 'चिडियाखानाको बारेमा सुनेको थिएँ। आज बल्ल हेर्न पाइयो।'

हुन त गत चैतमा नै गंगाध्वजको काठमाडौं आउने तयारी थियो। राजधानी आएर पशुपति र स्वयम्भूको दर्शन गर्ने र चिडियाखाना घुम्ने। यही सोचेका थिए उनले। तर कोरोनाका कारण लकडाउन भयो र उनको त्यो तयारी ९ महिनापछि धकेलियो।

छोरी सुनमाया भने पहिलो पटक धनकुटादेखि काठमाडौं आएका आमा बुबालाई र बहिनीलाई घुमाउन व्यस्त छिन् अहिले। बुबा आमाको घुम्ने इच्छा पूरा गर्दा स्वास्थ्य प्रोटोकल पालना गर्न भने छाडेकी छैनन् उनले।

भनिन्, 'हिजो घुम्न पर्‍यो भनेर आएको थियौं बन्द पो रहेछ। आज खुल्ने  भन्ने  जानकारी  पाए पछि  आएका हौं। अब सुरक्षित भएर उहाँहरुलाई घुमाउने हो।'

+++

कोरोना भाइरसको जोखिमका कारण गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना बिहीवारबाट पुनः खुला गरिएपछि त्यहाँ घुम्ने पुग्नेको कमी छैन। त्यहाँ पुग्ने सबैले भने स्वास्थ्य मापदण्ड अनिवार्य  पालना गर्नुपर्छ।

अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८०० मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउने लगायतका नियम लागू गरिएको छ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८  जनावर रहेका छन्। ती प्रजातिमध्ये ३३ स्तनधारी, ६१ चरा, आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी राखेको छ।

कोरोना पछि अहिले चिडियाखानाले पनि आफूलाई 'डिजिटल' बनाउने प्रयास गरेको छ। पहिला लाइनमा बसेर टिकट लिनुपर्ने हुन्थ्यो। अहिले भने चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell