PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

रत्न तामाङलाई हराउँदै प्रिन्स दाहाल फाइनलमा



पहिलोपोस्ट

रत्न तामाङलाई हराउँदै प्रिन्स दाहाल फाइनलमा

काठमाडौं: उदियमान खेलाडी प्रिन्स दाहाल सेनाका रत्नजित तामाङ्लाई पराजित गर्दै तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियस्तरीय पुरुष एकलको फाइनल प्रवेश गरेका छन्। बिहिबार सम्पन्न सेमिफाइनल खेलमा सिल्क ग्रुपका दाहालले तामाङ्गलाई २१–१९, २१–१६ को सोझो सेटमा पराजित गरे। निकैनै आक्रमक देखिएका प्रिन्सले रत्नलाई सम्हालिने मौका नै दिएनन्।

प्रिन्सले अब उपाधिका लागि सेनाका नविन श्रेष्ठसँग प्रतिस्पर्धा गर्नेछन्।

साँगाचोकगढी नगरपालिकाको प्रायोजन तथा तोप –२१ को आयोजनामा भएको प्रतियोगिताको अर्को सेमिफाईनलमा नविनले सेनाकै रुकेश महर्जन माथि २१–१७, २१–१० को जित निकाल्दै फाईनलमा प्रिन्स संगको भेट पक्का गरेका हुन्।

यस अघि आठौं राष्ट्रिय खेलकुद अन्तर्गत दाङ्मा भएको प्रतियोगितामा पनि सुदूरपश्चिमबाट खेलेका प्रिन्सले मेन्स टिम इभेन्ट्समा रत्नलाई पराजित गरेका थि। हालै निस्केको विश्व जुनियर बरीयतामा प्रिन्स ११ औं स्थानमा रहेका छन् भने ब्याडमिन्टन एशियाले प्रिन्सलाई उत्कृष्ट जुनियर खेलाडी घोषित गरेको थियो।

राष्ट्रिय स्तरका १६ खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भोली हुनेछ।

राष्ट्रिय स्तरको पुरुष एकलका विजयी खेलाडीले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन्। ब्याडमिन्टनको इतिहासमा यती ठुलो रकमको पुरस्कार रहेको यो पहिलो हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell