काठमाडौं: एन्फा कार्यसमितिको आजको बैठकले फुटबलका मुख्य प्रशिक्षक योहान कालीनको राजीनामा स्वीकृत गरेको छ।
महामारीयता आफ्नै देशमा रहेका स्वीडिस प्रशिक्षक कालिनले दिएको राजीनामा नोभेम्बर १ बाट लागु हुनेगरी स्वीकृत गरेको एन्फाले जनाएको छ।
कालीनको राजीनामा स्वीकृत गरेसँगै एन्फाले बालगोपाल महर्जनलाई निमित्त मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको समेत जनाएको छ।
महर्जन पछिल्लो समय बंगलादेश फुटबल सिरिज खेल्न जाँदादेखि निमित्त मुख्य प्रशिक्षकको भूमिकामा छन्। त्यस्तै विश्वकप छनोटको तयारीका लागि पनि महर्जनले ५८ जना खेलाडीलाई प्रशिक्षणमा बोलाइसकेका छन्।
यसअघि कालिनलाई एन्फाले मार्च १ २०१९ मा मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो। कालिन प्रशिक्षक रहँदा नेपाली टोलीले ११ खेल खेलेको थियो। जसमा नेपाली टोली एक खेलमा विजय भएको थियो भने दुई खेल बराबरी र ८ खेलमा पराजित भएको थियो।
