PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

९ महिनापछि सञ्चालनमा आउँदै नेपाल-भारत हवाइ उडान



वसन्तराज उप्रेती

९ महिनापछि सञ्चालनमा आउँदै नेपाल-भारत हवाइ उडान
फाइल फोटो

काठमाडौंः नेपाल-भारत हवाइ उडान ९ महिनापछि पुस २ गतेदेखि सीमित रुपमा सञ्चालनमा आउने भएको छ। कोभिड-१९ का कारण बन्द रहेको हवाइ उडान 'एयर बबल ट्राभल' सम्झौताका आधारमा खोल्न दुबै देश सहमत भएका हुन्।

नेपालले डेढ साताअघि पठाएको सम्झौताको भारतले बिहीबार जवाफ पठाउँदै पुस २ गतेदेखि उडान थाल्ने जानकारी दिएको हो। सहमति अनुसार नेपालको तर्फबाट नेपाल वायुसेवा निगम र भारतका तर्फबाट एयर इन्डियामार्फत् काठमाडौं-नयाँ दिल्ली दैनिक एक/एक उडान हुनेछ।

पर्यटनमन्त्री योगेश भट्टराईले दुई देशबीच उडान थाल्न सहमति भइसकेको जानकारी दिए।

‘नेपाल र भारतबीच हवाइ उडानका लागि बाटो खुलेको छ। यो उडान हेरेर विस्तारै उडान थप हुनेछ,’ उनले बिजमाण्डूसँग भने।

निगमले समेत उडानका लागि सबै तयारी पूरा गरिसकेको छ। निगमका अनुसार एयरबस-३२० मार्फत उडान सुरु हुनेछ। यात्रुको चाप बढ्दै गएमा वाइडबडीमार्फत उडान गर्ने निगमले जनाएको छ।

भारतले भदौ ७ गते नेपाललाई सम्झौताका लागि नेपाललाई प्रस्ताव पठाएको थियो। भारतले नियमित उडान नहुँदा उपचार, अध्ययन, व्यापारका लागि आउजाउ गर्ने नेपाली र भारतीय नागरिकलाई सेवा दिने उद्देश्यले यो सम्झौता नेपाली दूतावासमा पठाएको थियो।

सम्झौता अनुसार भारत यात्राका लागि भारतीय नागरिक र उडान गर्न योग्य यात्रुले मात्र सहभागिता जनाउन पाउनेछन्।

भारतबाट नेपाल जान चाहने भारतीय नागरिक र विदेशी नागरिकले सेवा लिन सक्ने छन्। सर्त अनुसार सम्बन्धित वायुसेवा कम्पनीको आधिकारिक वेबसाइट, ट्राभल एजेन्टस् र जिडिएस (ग्लोबल डिस्ट्रिब्युसन सिस्टम) मार्फत टिकट खरिद बिक्री गर्न सकिने प्रावधान छ।

उडान सञ्चालन गर्दा भारतीय नागरिक उड्डयन मन्त्रालयले तयार पारेको स्ट्याण्डर्ड अपरेशन प्रोसिड्योर (एसओपी) र भारतीय गृह मन्त्रालय र जनस्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य सुरक्षा निर्देशिका पालना गर्नुपर्ने सर्त छ। अहिले भारतले २१ वटा मुलुकसँग 'एयर ट्राभल बबल' अन्तर्गत २१ मुलुकसँग द्धिपक्षीय उडान सम्झौता गरिसकेको छ।

बंगलादेशसँग पनि खुल्ने

पर्यटनमन्त्री भट्टराईले नेपाल-बंगलादेशबीच पनि उडान खोल्ने गृहकार्य भइरहेको बताए। ‘बंगलादेशसँग पनि उडान खोल्न कूटनीतिक पहल भइरहेको छ। केही समयभित्रै खुल्नेमा हामी आशावादी छौं,’ उनले भने।

नेपाल-बंगलादेशबीच उडान नहुँदा अध्ययनका लागि नेपाल आएका विद्यार्थी जान पाएका छैनन्। उडान नहुँदा दुई देश बीचको व्यापारमा समेत प्रभावित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell