PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मोरङमा बलात्कार घटनाका अभियुक्तसँग मिलेर मिलापत्र गराउने ६ जना पक्राउ, ५ लाख रुपैयाँमा गराएका थिए मिलापत्र



पहिलोपोस्ट

मोरङमा बलात्कार घटनाका अभियुक्तसँग मिलेर मिलापत्र गराउने ६ जना पक्राउ, ५ लाख रुपैयाँमा गराएका थिए मिलापत्र

काठमाडौंः  मोरङमा २१ वर्षीया युवतीको बलात्कार गरेका अभियुक्तसँगै मिलेर घटनाको मिलापत्र गराउने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मोरङ धनपालथान गाउँपालिका वडा नम्बर ५ बस्ने ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधार सिंह खवास,  ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका वडा नम्वर १ बस्ने ६७ वर्षीय जगत नारायण खवास र बेलबारी नगरपालिका वडा नम्वर ८ बस्ने ५३ वर्षीय मथालु खवासलाई बिहिबार नियन्त्रणमा लिएको हो।

गत भदौ २४ गते  मोरङको धनपालथान गाउँपालिका वडा नम्वर ५ स्थित  सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा खवासले २१ वर्षिया युवतीलाई लाई एक्लै पारी जवरजस्ती करणी गरेको प्रहरीको अनुसन्धानमा देखिएको थियो। गत असोज २५ गते  ईलाका प्रहरी कार्यालय रंगेलीमा पीडितले जाहेरी दरखास्त दिएपछि फरार रहेका अभियुक्त खवासलाई मंसिर १९ गते नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानको क्रममा उनीहरुले गाउँमा नै पीडित परिवारलाई ५ लाख दिई मिलापत्र गराएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए। त्यसपछि मिलापत्र गराउने सबैलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बलात्कारका घटनामा मिलापत्र गराउने प्रचलनलाई निस्तेज पार्नेगरी अपराध संहित २०७४ को कार्यविधिमा संशोधन गरिसकेको छ।

 नयाँ व्यवस्था अनुसार मिलापत्र गराएको पाइएमा मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ। मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि अथवा सार्वजनिक पद धारण गरेको व्यक्ति भए थप ६ महिना कैदको व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell