काठमाडौं: नेपालका उदयीमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप - २१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको उपाधि जितेका छन्।
शुक्रबार भएको फाइनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन्। प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे। यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे।
दाहालले सेमिफाइनलमा नेपाल नम्बर एक खेलाडी सेनाका रत्नजित तामाङलाई पराजित गरेका थिए। तृतीय स्थान प्राप्त गरेका सेनाका रत्नजित र रुकेश महर्जनले जनही नगद १० हजार प्राप्त गरे।
मंसिर २१ गते देखि संचालित तोप २१ को आयोजना तथा चौतारा साँगाचोकगढी नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगितामा १६ राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको थियो।
