PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

काठमाडौं महानगरमा कहिले खुल्छ त विद्यालय ?



फूलमाया पुरी

काठमाडौं महानगरमा कहिले खुल्छ त विद्यालय ?

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैत्रबाट ठप्प विद्यालयहरु संचालन गर्न दिने अधिकार संघीय सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ। संक्रमणको अवस्थालाई मध्यनजर गर्दै विद्यालय खोल्ने अधिकार पाएको स्थानीय सरकारले अहिले संक्रमणको अवस्था मूल्यांकन गरिरहेको छ। केही स्थानीय तहले विद्यालय खोल्ने निर्णय यसअघि नै गरिसकेका छन् भने केही अझै अवस्था मूल्यांकनमा व्यस्त छन्।  

अहिले कोरोना संक्रमणको त्रास मानिसहरुमा घट्दै गइरहेको देखिएको छ। मानिसले कोरोनालाई सामान्य ठान्न थालेपनि संक्रमण नियन्त्रणमा आइसकेको छैन। देशभर पीसीआर परीक्षणको संख्या घट्दा संक्रमितको संख्या घटेको हो। तर समुदायमा फैलिएको यो महामारी कस्तो रुपमा छ भनेर अझै पर्याप्त अध्ययन हुन सकेको छैन। यसबीच विद्यालय संचालन हुँदा विद्यार्थीहरुलाई सुरक्षित बनाउने अर्को चुनौति छ।

मंसिरबाट कतिपय स्थानीय तहले विद्यालय संचालन गर्न सूचना जारी गरिसकेका छन्। उपत्यकाभित्र पनि भक्तपुर नगरपालिका र ललितपुर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई विद्यालय संचालन गर्न सूचना जारी  गरिसकेका छन्।

देशभरमा सबैभन्दा बढी संक्रमित रहेको काठमाडौंका केही स्थानीय तहमा समेत विद्यालय संचालन भइसकेका छन्। तर, काठमाडौं महानगरपालिका भित्रका विद्यालय भने कहिलेदेखि संचालनमा आउँछन् भन्ने यकिन हुन सकेको छैन।

काठमाडौं अझै संक्रमणको उच्च जोखिममा रहेको छ। समुदायमा संक्रमण फैलिएको र मानिसको आवतजावत बाक्लिएको अवस्थामा स्वास्थ्य मापदण्ड समेत पालना भएका छैनन्। यसबीच विद्यालय संचालन हुनुपर्ने माग समेत उठिरहेको छ।

कक्षा ८ को वार्षिक परीक्षा र कक्षा १० को एसईई परीक्षा बारेपनि अन्यौल बढ्दै गइरहेको छ।

यसबीच काठमाडौं महानगरलाई विद्यालय संचालन गर्न दबाब पनि बढ्दो छ। तर अहिलेकै अवस्थामा विद्यालय संचालन गर्न दिने तयारीमा महानगर देखिँदैन।

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन गराउने सुझाव आइरहेका छन्। उक्त विषयमा सम्बन्धित सबै सरोकारवाला निकायसँग महानगरपालिका छलफलमा छ। तर निर्णय भइसकेको छैन।

'विद्यालय संचालनका विधि र स्वास्थ्य मापदण्ड कसरी पालना गराउने भन्ने बारेमा शिक्षा समितिमा गम्भिर छलफल भइरहेको छ' उनले भने।

जिल्लामा रहेका अन्य स्थानीय तहभन्दा काठमाडौं महानगरभित्र सबैभन्दा बढी कोरोना संक्रमित छन्। त्यसलै हतारमा विद्यालय खोल्ने निर्णय गर्ने पक्षमा महानगर नरहेको डंगोल बताउँछन्।

'कोरोनाबाट महानगर बढी नै प्रभावित भएकाले कुनकुन विधि अपनाउँदा संक्रमणको जोखिम कम हुन्छ भन्ने विषयमा गम्भिर भएर सोच्नुपर्ने छ' डंगोलले भने।

कोरोना संक्रमणका कारण घरमै बस्न बाध्य विद्यार्थी वैकल्पिक शिक्षण सिकाइमा सहभागी भएर अनलाइन माध्यमबाट पढिरहेका छन्। हाल महानगरले 'दूर शिक्षा कार्यक्रम' भनी मेट्रो एफएमबाट कार्यक्रम संचालनमा ल्याइरहेको पनि उनले जानकारी दिए।

'वैकल्पिक शिक्षाले धेरै भाइबहिनीको पढाइप्रति ध्यान केन्द्रित गरेको छ। यदि त्यसो नहुँदो हो त विद्यार्थीहरुमा मानसिक रुपमै असर गर्न सक्थ्यो' उनले भने। तर, अनलाइन कक्षाले मात्रै सबै विद्यार्थीलाई समेट्न नसकेको र यसको दीर्घकालिन प्रभाव बारे महानगर जानकार रहेको उनी बताउँछन्। त्यसैले पनि विद्यालय संचालनमा ल्याउन निरन्तर छलफल भइरहेको उनको भनाई छ।

महानगर छलफलमा रहँदा सरोकारवालाहरु भने विद्यालय संचालन गर्नुपर्ने माग उठाइरहेका छन्।

प्याब्सन अध्यक्ष टीकाराम पुरी काठमाडौं महानगरपालिकाले संक्रमण जोखिमका बाबजुद पुसको पहिलो हप्ताबाट स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरि विद्यालय संचालन गर्ने निर्णय गर्नुपर्ने बताउँछन्।

पुरीका अनुसार काठमाडौंपछि सबैभन्दा बढी संक्रमण देखिएको विराटनगर महानगरपालिकामा पुस २ गतेबाट विद्यालयहरु संचालनमा आउँदैछन्। विराटनगरमा पनि जनघनत्व बढी रहेको संक्रमणको जोखिम पनि उत्तिकै रहेको अवस्थामा सबै तयारी गरेर नै विराटनगरमा विद्यालय खोल्ने निर्णय गरिएको उनको बुझाइ छ।

भक्तपुर नगरपालिकाले कक्षा ८,९ र १० को कक्षा पुस १ गतेबाट संचालन गर्ने निर्णय गरिसकेको छ भने ललितपुर महानगरपालिकाले विद्यालय संचालन गर्न विद्यालयलाई नै जिम्मेवारी दिने निर्णय गरिसकेको छ।

 पुरी भन्छन्, 'हतार गरिनु हुन्न। तर ललितपुर,भक्तपुर, वीरगंज लगायतका स्थानीय तहले विद्यालय खोल्ने निर्णय गरिसकेको अवस्थामा अब काठमाडौं धेरै पछाडि जान हुँदैनु।' विद्यालय संचालन सम्बन्धी चाँडै निर्णय गर्न प्याब्सनका तर्फबाट महानगरलाई अनुरोध गरिसकेको पनि उनले बताए।  

विद्यालय संचालन नभएको अवस्थामा यस वर्षको एसईईको शैक्षिक सत्र समेत खेर जान सक्ने उनी बताउँछन्।

यता, एन प्याब्सनका केन्द्रीय महासचिव सुवास न्यौपानेले काठमाडौं महानगरपालिकाले पछिल्ला केहिदिनदेखि सरोकारवाला संस्थासँग छलफल गरिरहेको बताए। तर, विद्यालय संचालन बारे केही निर्णय भइसकेको छैन।

उनका अनुसार महानगर र सरोकारवाला संस्थाले विद्यालय संचालनमा ल्याउन अपनाउनुपर्ने आवश्यक स्वास्थ्य सुरक्षा र अन्य चुनौति बारेमा छलफल गरिरहेका छन्। उनले पनि अब अनिवार्य रुपमा विद्यालय संचालन गर्नुपर्ने बेला भइसकेकोमा जोड दिए।

महासचिव न्यौपानेले अब काठमाडौं महानगरमा विद्यालय संचालनमा ल्याउँदा विद्यार्थीको सुरक्षाको लागि त्यहाँको व्यवस्थापन समितिलाई जिम्मेवार बनाइनुपर्ने बताए।

'अब संचालन गर्दा विद्यालय व्यवस्थापन समितिलाई जिम्मा दिनुपर्छ। जहाँ अभिभावक, सरकार, विद्यालय निरिक्षक लगायतहरुको प्रतिनिधि हुन्छ। जसले गर्दा स्वास्थ्य सुरक्षा साथ विद्यालय संचालन गर्न सहज हुनेछ' उनले भने।

विद्यालयहरु स्थानीय सरकारले बनाएको हेल्थ पोट्रोकललाई मानेर संचालन गर्न तयार रहेको उनले बताए।

एसईई परीक्षा आउन करिब ४ महिना बांकी रहेको छ। गत वर्षको एसईई परीक्षा कोरोनाका कारण हुन सकेन। परीक्षा गर्ने अवस्था नभएपछि विद्यालयहरुको आन्तरिक मूल्याकंनको आधारमा विद्यार्थीहरुको ग्रेड प्रमाणिकरण गरिएको थियो। अहिले पनि एसईई परीक्षाको अन्यौलता कायम नै छ।

यसबारेमा एन प्याब्सनका केन्द्रिय अध्यक्ष रीतुराज सापकोटा भन्छन्, 'एसईई परीक्षालाई यसअघिका शैक्षिक सत्र जस्तो हाउगुजी नबनाई आन्तरिक परीक्षाका रुपमा अगाडि बढाउन सकिन्छ। अब कक्षा १२ सम्मै माध्यमिक तह भएकाले यसपटक पनि एसईई परीक्षा आन्तरिक परीक्षाबाटै गर्न सकिन्छ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell