PahiloPost

May 14, 2025 | १ जेठ २०८२

पर्सामा जगदम्बा स्टिलमा कार्यरत मजदुरको वीभत्स हत्या



राधेश्याम पटेल

पर्सामा जगदम्बा स्टिलमा कार्यरत मजदुरको वीभत्स हत्या

वीरगंज: पर्सामा एक जना पुरुषको वीभत्स हत्या भएको छ। गएराति धारिलो हतियार प्रहार गरी वीरगंज-३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनारको हत्या भएको हो।

बाराको सिमरामा रहेको जगदम्बा स्टिलमा काम गर्ने सोनारको धारिलो हतियार प्रयोग गरी उनको दुवै आँखा निकालिएको पर्सा प्रहरीले बताएको छ। पैसाका लागि उनको हत्या भएको हुनसक्ने वीरगंज १५ भेडियाही बस्ने सोनारका ज्वाईँ मिठु सर्राफले बताए।

‘भाञ्जीको कन्यादानका लागि उद्योगबाट पेश्की स्वरुप ५०/६० हजार रुपैयाँ लिएर बिहीबार साँझ ६ बजे गाउँकै चोकमा आएका थिए’, उनले भने, ‘उनले जितपुर र परासवाकै केही व्यक्तिको बीचमा पैसा र विवाहको कुरा गरेका थिए, सायद ती व्यक्तिहरुले नै उनको हत्या गरेका हुन सक्छन्।’

सोनारको भाञ्जी विवाह शुक्रबार थियो। विवाहस्थलभन्दा ५ सय मिटर उत्तरमा रहेको गहुँ खेतमा शव भेटिएको थियो। शुक्रबार बिहान ९ बजे गाउँलेले शव देखेर प्रहरीलाई खबर गरेका थिए।

घटनाको अनुसन्धान भइरहेको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। शव पोस्टमार्टमको लागि नारायणी अस्पताल वीरगंज ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell