PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बागमतीमाथि नारायणीको सुपरओभरमा जित



पहिलोपोस्ट

बागमतीमाथि नारायणीको सुपरओभरमा जित

काठमाडौं: गौतम बुद्ध कप त्रिकोणात्मक सिरिज अन्तर्गत आज भएको उद्घाटन खेलमा नारायणीले बागमतीमाथि सुपर ओभरमा जित निकालेको छ। धुर्मुस सुन्तली फाउन्डेसनले बनाइरहेको गौतम बुद्ध इन्टरनेसनल स्टेडियममा भएको खेलमा नारायणीले बागमतीलाई हराउँदै सुखद सुरुवात गरेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो। बागमतीका लागि विक्रम सोबले अभिजित ३७ रन बनाउँदा सुनिल धमलाले पनि समान ३७ रननै बनाएका थिए। त्यस्तै राशिद खानले २७ रन बनाएका थिए। धमला बाहेक अन्य सुरुवाती ब्याट्सम्यान क्रिजमा जम्न संघर्ष गरिरहँदा सोब र खानले उत्कृष्ट साझेदारी गर्दै बागमतीको ब्याटिङ उकासेका थिए।

उता नारायणीका लागि सहाब आलमले सर्वाधिक ३ विकेट लिँदा दीपेश श्रेष्ठले महत्वपूर्ण २ विकेट लिएका थिए। त्यस्तै करण केसी, किसोर महतो र सुशन भारीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नारायणीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै समान ११७ रन बनायो।

नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाउँदा सिद्धान्त लोहनीले २० रन तथा इशान पाण्डेले १३ रन बनाए।

बागमतीका लागि सोमपाल कामीले २ विकेट लिँदा सागर ढकाल, पवन सर्राफ, विक्रम सोब, ललितनारायण राजबंशी र राशिद खानले समान १/१ विकेट लिए।

दुबै टिमले समान ११७ रन बनाएपछि खेल सुपरओभरमा पुगेको थियो। सुपरओभरमा चार छक्का प्रहार गर्दै करण केसीले नारायणीलाई जित दिलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell