२०७७ साल मंसिर ६ गते (नेपाल संवत् ११४१ कछ्लाथ्व चौथी) शनिबार शंखधर उद्यान (साबिकको रत्नपार्क) मा राष्ट्रिय विभूति शंखधर साख्वा: को पूर्णकदको शालिक अनावरण गरियो। उद्यानमा नै राखियो दिवंगत पद्मरत्न तुलाधरको शालिक पनि। तुंख्यो (टुँडिखेल) अतिक्रमण गरेर बनाइएको रत्नपार्कको नाम केही वर्षअघि नै परिवर्तन गरी शंखधर उद्यान राखिएको थियो।
साबिकको रत्नपार्क चलनचल्तीको नाम। काठमाडौँ र ललितपुरका विभिन्न स्थानका लागि बस र माइक्रो पाउने ‘जक्सन’ भएकाले पार्कको नाम परिवर्तन भए पनि जनजीविकामा रत्नपार्क नै कायम रह्यो। राजतन्त्र हटेपछि रोयल नेपाल एयरलाइन्स कर्पोरेशन (आरएनएसी) बाट आर अर्थात् रोयल हट्यो। तर भन्नेले आज पनि आरएनएसी नै हो। हो त्यस्तै भइरह्यो।
तर, जब मंसिर ६ गते शंखधरको शालिक अनावरण गरियो तब सामाजिक सञ्जाल तातियो ‘नयाँ नामलाई’ लिएर। अर्थात् ‘शंखधर उद्यान’को नामलाई लिएर।
विरोध गर्नेहरू दुई खेमामा देखिए। एक पक्ष ‘रत्नपार्कको इतिहास’ मेटियो भनेर चिन्तित देखिए। अर्को पक्ष शंखधरलाई सम्मान नै गर्ने हो भने अरू स्थानमा नै पार्क बनाउन सक्नुपर्छ भन्दै थिए। महानगरले उद्यानमा शालिक राखेकोमा बधाई दिनेहरू पनि धेरै देखिए।
रत्नपार्कको नाम धेरै समयअघि नै परिवर्तन भए पनि केही मिडियाले शालिक अनावरण गरेकै दिन नाम परिवर्तन भएको जसरी समाचार प्रकाशित गरे। जसबाट थप भ्रम फैलियो। नाम त केही वर्षअघि नै परिवर्तन भएको हो। तर त्यहाँ हालमात्रै मानिसहरूको नजर पुग्यो। ढिलै भए पनि रत्नपार्कको नाम नै परिवर्तन भएको थाहा पाएका अधिकांशले रत्नपार्कको इतिहास मेटाउन प्रयास भएको भन्दै आलोचना गरे। रत्नपार्कमा साख्वा: को प्रतिमा स्थापना गरेर राष्ट्रिय विभूतिलाई महानगरले विवादमा तान्न प्रयास गरेको समेत भनियो।
नयाँ विवादले नयाँ प्रश्न पनि खडा गरेको छन्। शंखधर उद्यानको भविष्य के होला? जसबारेमा चर्चा हुन जरुरी छ।
वि. सं १९१२ मा जंगबहादुर राणा प्रधानमन्त्री हुँदा नेपाल आएका इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्डले टुँडिखेल २-३ माइल लामो र ३ गज चौडा रहेको उल्लेख गरेका थिए। हेनरीद्वारा लिखित पुस्तक 'स्केच्स् फ्रम नेपाल'मा टुँडिखेललाई 'एसियाको सबैभन्दा ठूलो परेड मैदान' भनिएको थियो। टुँडिखेल हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालादेखि रानीपोखरी (न्हु पुखु) सम्म फैलिएको थियो।
नेपालमा राणा शासन सुरु हुने बेलासम्म काठमाडौँको मध्य भागमा रहेको यो खेत बहुप्रयोजनका लागि प्रयोग गरिन्थ्यो। त्यहाँ नेवार समुदायले कूल पूजा गर्थे। दुईमाजु मन्दिरमा शक्तिको उपासना हुन्थ्यो। गाइगोरु चराउने काम हुन्थ्यो। स्थानीयका लागि 'रिक्रिएसनल' स्थान जस्तै थियो टुँडिखेल। काठमाडौँका अजिमाहरूलाई एकै स्थानमा ल्याएर भेटाउने स्थान थियो टुँडिखेल। तर, विशाल मैदान देखेर जंगबहादुर राणाले छाउनीमा गरिने सैन्य परेड टुँडिखेलमा सारे। त्यहीँबाट सुरु भयो टुँडिखेल अतिक्रमणको खेल। टुंडिखेललाई साँघुरो बनाउने खेल शाह कालमा चरम विन्दुमा पुग्यो।
राजा महेन्द्र शाहको शासनकालमा टुँडिखेल झनै साँघुरियो। पञ्चायत शासनका सूत्रधार महेन्द्रले टुँडिखेलको मध्य भागमा रहेको ऐतिहासिक खरिबोटसहितको चौतारा भत्काउन लगाएका थिए। सँगै उनले तत्कालीन रानी रत्नराज्यलक्ष्मीको नाममा टुँडिखेलको एक भागमा पार्क बनाउन लगाएका थिए। त्यही पार्क पछि 'रत्नपार्क' का रूपमा चिनियो। उक्त पार्क बनेको स्थानमा स्थानीय नेवार समुदायको धार्मिक पूजाहरू हुन गर्थ्यो। जुन मासियो। अहिले नाम परिवर्तन गरेर इतिहास मेटाइएको भनिएको रत्नपार्क त्यही विशाल टुंडिखेलको अतिक्रमित भूमि हो। जुन टुंडिखेलको इतिहास मेटिएको धेरैलाई थाहा छैन।
गणतन्त्र आएपछि भने उक्त पार्कको नाम राष्ट्रिय विभूति शंखधर साख्वाको सम्मानमा शंखधर उद्यान राखिएको थियो। राजतन्त्रको समयबाट जनताबाट खोसिएको खुला स्थान जनताकै नायकको नाममा राख्नुलाई नकारात्मक रूपमा प्रस्तुत गर्नु हुँदैन। बरु त्यसलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर चाहिँ बहस अघि बढाउनुपर्ने देखिन्छ।
बहसका दुई पाटा छन्। पहिलो, नयाँ पार्क किन नबनाउने?
शासन परिवर्तन भएसँगै स्थान नाम परिवर्तन हुँदा त्यसले गलत नजिर बस्छ। काठमाडौँ उपत्यका त्यसको उदाहरण नै हो। सहचालकलाई फिब्य ख्य: भन्न अल्छी लागेर उसले आफ्नो ‘कम्फर्ट अफ टंग’ का लगि माइतीघर फिल्मको बोर्ड देखेर ठाउँको नाम नै माइतीघर बनाइदियो। काठमाडौँका अधिकांश क्षेत्रको स्थान नाम ‘कम्फर्ट अफ टंग’ कै कारण खसकरण भएका छन्। रत्नपार्क पनि परिवर्तित नाम हो जस्तै हाल शंखधर।
नयाँ नाम तब स्थापित हुन्छ जब त्यहाँ बस्नेलाई त्यसलाई स्वीकार्छन्। त्यसको अपनत्व ग्रहण गर्छन्। यदि नाम परिवर्तन गर्ने नै भए पनि त्यो स्थानको इतिहासले त्यो नामलाई सार्थक बनाउन सक्नुपर्छ। जुन रत्नपार्कको नाम परिवर्तन गरेर मात्रै सम्भव छैन। किनभने रत्नपार्कले शंखधरको कृति बोक्न सक्दैन। यो विशाल टुँडिखेलकै क्षेत्र हो।
यदि महानगरपालिकाले साँच्चै नै शंखधरको सम्मान गर्दै उद्यानमा शंखधरको शालिक स्थापना गरेको हो भने त्यसलाई पैसा तिरेर घुम्ने स्थान बन्न दिनु हुँदैन। त्यसलाई समाजसेवी बन्न प्रेरित स्थलका रूपमा विकास गर्नुपर्छ। जुन प्रायः असम्भव देखिन्छ। होइन सकिँदैन भने शालिकमात्रै राखेर साख्वा: को असल कार्यलाई प्रतिबिम्बित गर्न सकिँदैन।
त्यसैले शंखधरको सम्मानमा नयाँ पार्क किन नबनाउने भन्ने जमातसमेत देखिएका छन्। हाल बाग्मती किनारलाई नै शंखधरलाई समर्पित गरेर त्यहाँ शंखधरको कृति र नेपाल संवतको उथानका लागि वृहत् योजना निर्माण पो गर्ने सकिन्छ कि? लखतीर्थ पुनर्निर्माणको काम भइरहेको छ। त्यसलाई नै विस्तृत आकार दिन सकिन्छ। अरू नि विकल्प होलान्। किनभने अहिले धेरैलाई शंखधर नेवा: मात्रै हो भन्ने भ्रम छ। राज्यले शंखधरलाई राष्ट्रिय विभूति घोषणा गरे पनि नेपाल संवतलाई व्यवहारिक रूपमा कार्यान्वयन नगर्नु र वर्षको एक दिनमात्रै शंखधरलाई सम्झनुले उक्त भ्रमलाई थप टेवा दिएको छ। त्यसैले शंखधरलले जनताको ऋणमोचन गरेकै स्थानलाई जगेर्णा गर्ने हिसाबले गुरु योजना ल्याउन ढिला भइसक्यो।
अब मुख्य प्रश्न, शंखधर उद्यानको भविष्य के होला?
एक वर्षअघि विशाल टुँडिखेल पुनः स्थापित हुनुपर्छ र सर्वाधरणका लागि खुल्ला हुनुपर्छ भनेर ‘अकुपाई टुँडिखेल/मुक्त टुँडिखेल’ अभियान नै चलेको थियो। उनीहरूले रत्नपार्क र रानीपोखरीसहितलाई जोडेर वृहत् टुँडिखेल निर्माणका लागि माग गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि केही समयअघि ‘बृहत् टुँडिखेल’ को अवधारणा ल्याएको थियो। जसमा रानीपोखरीदेखि दशरथ रंगशालासम्मको बृहत् टुँडिखेलको अवधारणा प्रस्तुत गरिएको छ।
तर, उक्त अवधारणमा शंखधर उद्यानको चर्चा नै छैन। त्यसमा साबिकको रत्नपार्क र खुलामञ्चलाई जोडेर ‘ग्रेटर रत्नपार्क’ बनाउने योजना प्रस्तुत भएको छ। उक्त प्रस्ताव अनुसार रानीपोखरी र रत्नपार्कको बीचको बाटो बन्द हुनेछ र त्यहाँ एकीकृत पार्क बन्नेछ। रत्नपार्कलाई थिम पार्कका रूपमा विकास गरेर त्यहाँ अन्डरपास समेत बनाउने योजना छ।
काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर पिएल सिंहकै पालामा बृहत् टुँडिखेलको आयोजना ल्याइएको थियो। जुन विविध कारणले रोकिएको थियो। हाल फेरि त्यस्तै अवधारणा ल्याइएको छ। जसको कार्यान्वयनपछि जटिल भए पनि असम्भव भने छैन।
यदि यो आयोजना सम्भव भए हाल शंखधर उद्यानको अस्तित्व नरहन नि सक्छ। किनभने बृहत् टुँडिखेलको आफ्नै अस्तित्व र इतिहास छ। बृहत् र खुल्ला टुँडिखेल हाम्रै माग हो। त्यसैले भविष्यमा त्यहाँ रहने शंखधरको शालिक अलपत्र त पर्ने होइन भन्ने प्रश्न उठ्नु पनि जायज हो।
यी प्रश्नहरू आज व्यर्थको लाग्न सक्लान्। तर भावी सन्ततिका लागि यही प्रश्न महत्त्वपूर्ण बन्न सक्छ। नेपाल संवत् र शंखधर साख्वा:लाई राष्ट्रिय मान्यता दिलाउन नेवा: समुदाय वर्षौँदेखि लागिरहेका छन्। जसलाई हाल विस्तारै स्विकारिँदै छ पनि। शालिकहरु त नयाँ पनि बन्नेछन्। कुरा स्थायित्वको हो। पछि गएर फेरि हाम्रो सन्ततिले शंखधरका लागि अर्को पार्क खोज्न नपरोस्।