वीरगंज : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता नबुझ्ने र नपचाउने व्यक्ति नै नेपाल सरकारको नेतृत्वमा रहेकोले काम गर्न कठिन भइरहेको बताएका छन्।
रेडिया वीरगंज ९९ मेगाहर्जको १८ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘देशमा संघीयता नबुझ्ने प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गरिरहेका छन्, कस्तो विडम्बना। संघीयतालाई सखाप पार्न संसदबाटै विभिन्न थरी ऐन पास गरी प्रदेश सरकारको हक अधिकार कटौती भइरहेको छ।’
देश संघीय गणतन्त्रात्मक लोकतन्त्रिक व्यवस्थामा गएपनि प्रदेश सरकारले अहिलेसम्म संघीतयाको मर्म अनुसार काम गर्न नसकेको उनले बताए।
भने ,‘प्रदेश सरकारलाई भएको अधिकार पनि कटौती गरिदैछ। संघ सरकार मातहत रहेका कर्मचारीहरुले गर्दा निकै समस्या भइरहेको छ। कसरी काम गर्ने ? कसरी विकास गर्ने ?’
कार्यक्रममा मुख्यमन्त्री राउतले लोकतन्त्रमा संचारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताए।
यस्तै, प्रदेश २ का भौतिक पूर्बाधार विकास मन्त्री जितेन्द्र सोनलले देशमा अहिले लोकतन्त्र चरमराएको बताए। देशमा संघयता आए तपानि केही शक्ति अहिले पनि संघीयतासंग धोखाबाजी गरिरहेको र प्रदेश सरकारले पाउन अधिकारबाट पनि बञ्चित गर्न खेलमा लागेको मन्त्री सोनलले बताए।
भने,‘देशमा लोकतन्त्र माथि खतरा बढदै गएको छ। यही मौकामा सञ्चार जगतले थप जिम्मेवारीको साथ लोकतन्त्रलाई बचाउन भूमिका निर्वाह गर्नुपर्छ।
कार्यक्रममा पर्सामा कोभिड महामारी नियन्त्रणमा योगदान पुर्याउने फन्टलाइनरहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंह, स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर छन्। रेडियो वीरगंजका कार्यकारी निर्देशक ध्रुब साहका अनुसार सोही अवसरमा रेडियोका कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो। उत्कृष्ट कर्मचारीको रुपमा निलिमा पौडेललाई ११ हजार नगदसहित सम्मान गरिएको थियो।