स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिड रियल मड्रिडसँग पराजित भएको छ। स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा घरेलु टोली रियलले २-० गोलअन्तरले जित निकालेको हो।
रियलले खेलको १५ औं मिनेटमा अग्रता बनाएको थियो। घरेलु टोलीका लागि टोनी क्रुसको पासमा कासेमिरोले गोल गर्दै अग्रता दिलाउँदा पहिलो हाफमा रियल १ गोलले अघि रह्यो। दोस्रो हाफमा रियलले एउटा आत्मघाती गोल उपहारमा पायो। एट्लेटिकोका जन ओल्बाकले खेलको ६३ औं मिनेटमा आत्मघाती गोल गर्न पुग्दा एट्लेटिको २-० ले पराजित हुन पुग्यो।
पराजयका बावजुत ११ खेलबाट २६ अंक जोडेको एट्लेटिको अंकतालिकाको शीर्षस्थानमा छ। त्यस्तै २५ अंक जोडेको रियल सोसिडाड दोस्रो र रियल मड्रिड २३ अंकसहित तेस्रो स्थानमा छ।
