काठमाडौं : काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने मुख्य नाकाहरुमा सवारी साधनको चाप बढ्न थालेको छ।
सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि नाकामा सवारी साधनको चाप ह्वातै घटेको थियो। असोज १ गतेदेखि लामो दुरीका सवारी साधनलाई चल्न दिए पनि सवारी र यात्रुको सङ्ख्या न्युन थियो।
तर, केही समययता नाकामा सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कले देखाएको छ। लकडाउनको समयमा दैनिक अत्यावश्यक सवारी साधनमात्र आवतजावत गर्थे। त्यो समय करिब १५ सयदेखि २ हजार सवारी साधन आउने जाने गरेको ट्राफिकको तथ्याङ्कले देखाउँछ।
असोज १ गतेपछि पनि खासै सवारीको चाप बढेन। हिन्दुहरुको महान चाड दशैं, तिहार र छठमा पनि घर फर्किने यात्रु र सवारी साधनको सङ्ख्या गत वर्षको तुलनामा कम नै रह्यो। दैनिक ४ देखि ५ हजार सवारी साधन आवत जावत गरेका थिए।
तर पछिल्लो केही दिनमा ७ हजार बढी सवारीसाधन नाकाबाट प्रवेश र बाहिरिने गरेका छन्। शनिवार पनि ७ हजार ५ सय ६० वटा सवारी साधन उपत्यकाभभित्र प्रवेश गरे। त्यस्तै बाहिरिने सवारीको सङ्ख्या ७ हजार ४ सय ९३ रह्यो। सबैभन्दा धेरै नागढुंगा नाकाबाट सावारी सधान आवतजावत गरेको देखिन्छ। ४ हजार २ सय सवारी दैनिक यस नाकाबाट आवतजावत गरेका छन्।
शुक्रवार पनि ७ हजार सवारी साधन नै बाहिरिएको र प्रवेश गरेको देखिन्छ। ७ हजार २ सय २३ वटा सवारी साधन काठमाडौं उपत्यकाभित्र प्रवेश गर्दा ७ हजार २ सय ३० वटा बाहिरिएका थिए। गत बिहीवार पनि ७ हजार १ सय सवारी साधन विभिन्न नाकाबाट प्रवेश र बाहिरिएको प्रहरीले जानकारी दिएको छ। पछिल्लो १५ दिन यता दैनिक औशत ७ हजार सवारी साधन आवत जावत गरेको देखिन्छ।
