काठमाडौं : नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक वर्ष आयोजना गर्ने खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६’ कार्यक्रम आउँदो पुस २८ गते हुने भएको छ।
कोभिड १९ का कारण यसपटक निर्धारित समयभन्दा केही पछाडि यो कार्यक्रम आयोजना गरिन लागेको हो। अवार्डको यो १७ औं संस्करणमा विगत वर्षहरुमा भन्दा फरक हुने मञ्चका महासचिव प्रज्वल ओलीले जनाए।
'कोरोना महामारीका कारण सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमी भर्चुअल माध्यमबाट गर्नुपर्ने भएको छ,' मञ्चले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'विगत वर्षमा कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गर्दै आएको कार्यक्रम यसपालि सातदोबाटोस्थित कराँते हलमा सेमी भर्चुअलको माध्यमबाट गर्नेछौं।'
स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाइकल रहेको छ।
हंशराज हुलासचन्द एण्ड कम्पनीले स्पोर्टस अवार्ड कार्यक्रमका लागि मञ्चलाई अठ्ठाइस लाख रुपैयाँ बराबर (नगद र जिन्सी) उपलब्ध गराउने बताइएको छ।
पल्सर स्पोर्टस अवार्ड २०७६ मा १० विधामा अवार्ड प्रदान गरिने छ। यस वर्ष एक नयाँ विधा थप गरिएको छ। गत वर्ष थपिएको विधा इन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डलाई यस वर्ष पनि निरन्तरता दिइने जनाइएको छ।
विगतका वर्षमा जस्तै यसपालि वर्षका उत्कृष्ट खेलाडी पुरुष, वर्षका उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई सम्मानित गर्ने मञ्चले जनाएको छ।
मञ्चले वर्ष खेलाडी महिला, पुरुष, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन सार्वजनिक गरिने जनाएको छ। यसका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक तयारी सुरु गरिसकेको छ। ती विधामा खेलाडीको मनोनयन चाँडै सार्वजनिक बताइएको छ।
लाइफटाइम, पारा र टिम अफ दी इयरको अवार्ड विजेता भने कार्यक्रमकै दिन घोषणा गरिनेछ भने विगतमा झै वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ।
अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने जानकारी गराउने मञ्चले जनाएको छ।
अघिल्लो वर्ष पुरुषतर्फ प्याराग्लाइडिङका युकेश गुरुङ, महिलातर्फ सावित्री भण्डारी, युवातर्फ एथलेटिक्सका अजितकुमार यादव र प्रशिक्षकतर्फ प्याराग्लाइडिङका योगेश भट्टराईले अवार्ड जितेका थिए। यसैगरी पिपल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितेका थिए भने स्पेसल अवार्ड पनि फुटबलका रोहित चन्दले हात पारेका थिए। त्यस्तै पारा एथलिट अवार्ड दृष्टिविहीन मनकेसी चौधरी र लाइफटाइम एचिभमेन्ट अवार्ड एथलेटिक्सका हरिबहादुर रोकायलाई प्रदान गरिएको थियो। टिम अफ द इयरमा प्याराग्लाडिङलाई घोषित गरियो। एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड पाकिस्तानका अमजद अजिज मलिकलाई प्रदान गरिएको थियो।
