विराटनगर : नेकपा केन्द्रीय सदस्य तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले छक्कापन्जा गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन नसकिने बताएका छन्।
नेता बास्कोटाले पार्टीभित्र विवाद भयो भन्दैमा प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने बताएका हुन्।
विराटनगरमा आइतवार सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता बाँस्कोटाले विधि, प्रक्रिया भनेकै नेतृत्वको परिवर्तन महाधिवेशनबाट हुने र प्रधानमन्त्री आम निर्वाचनबाट परिवर्तन हुने हो भन्ने जिकिर गरे।
‘उहिल्यै सीपी मैनालीलाई पाँचसात जना मिलेर फालेजस्तो अहिले सकिँदैन। त्यसरी फाल्न थाल्ने हो भने नातिलाई डोको जिम्मा लगाए जस्तो हुन्छ। नातिले पनि फाल्छ,’ उनको भनाइ थियो, ‘उहाँहरु पाँच जनालाई जे लाग्यो त्यही गर्ने अवस्था हुँदैन।’
प्रधानमन्त्री फेर्ने हो भने पनि संसदीय दल 'फेस' गर्नुपर्ने उनको भनाइ थियो।
‘बहुमत सदस्यले आफ्नो विचार राख्न सक्दछन्। प्रधानमन्त्रीको पदबाट हटाउन पार्टीको निर्णयले मात्र सम्भव छैन,’ उनले भने, ‘संवैधानिक विधि भनेको संसदीय प्रक्रिया हो। संसदीय प्रक्रियाबाट मात्र त्यो सम्भव छ। अरू सबै छक्कापन्जा मात्र हुन्।’
उनले प्रधानमन्त्री केपी ओलीलाई विधि, प्रक्रिया र आचरणको सर्टिफिकेट दिने हैसियत कुनै नेतासँग नरहेको पनि बताए।
ओलीपक्षीय गुटगत भेलालाई सम्बोधन गर्न पूर्व आएका बास्कोटाले केपी ओलीलाई नेपाली जनताले मात्र क्यारेक्टर सर्टिफिकेट दिने जिकिर गरे। पार्टीभित्र अहिले बहुमत र अल्पमतका आधारमा छलफल र निर्णय गर्ने पद्धति बसाउन खोजिएकोप्रति उनले विरोध जनाए। बहुमत र अल्पमतले पार्टीलाई दुर्घटनामा पुर्याउने दाबी गर्दै त्यसतर्फ जाने हो भने आउने चुनौती ब्यहोर्न तयार हुनुपर्ने उनको चेतावनी थियो।
पत्रकार भेटघाटकै क्रममा उनले मुलुकलाई जबर्जस्ती हिंसामा लैजाने र व्यक्ति हत्या गर्ने दुस्प्रयास भएको भन्दै विप्लव समूहको क्रियाकलापप्रति विरोध जनाए। उनले मोरङको मिक्लाजुङमा शिक्षक हत्याको विरोध गर्दै व्यक्तिहत्या अस्वीकार्य हुने बताए।
उनले सत्तारुढ दलमा विवाद देखिएको मौकामा देशमा राजा फर्काउने नाममा स्वस्थानी कथा बाचन हुनथालेको भन्ने टिप्पणी गरेका थिए।
उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने र प्रजातन्त्रमा विप्लवको जस्तो व्यक्तिहत्या स्वीकार्य नहुने बताए।
