PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

चियाको गुणस्तर बढाउन १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन हुने



रासस

चियाको गुणस्तर बढाउन १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन हुने

इलाम : चियाको गुणस्तर बढाउन इलामसहित १२ जिल्लामा सीप विकास परियोजना सञ्चालन गरिने भएको छ। केन्द्रीय चिया सहकारी संघको आयोजनामा उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ शुरु हुने भएको हो। सो परियोजना युरोपेली संघको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ।

कार्यक्रम चिया उत्पादन हुने इलामसहित पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरका जनशक्तिलाई दिइनेछ। परियोजनाद्वारा सञ्चालित तालिममा इलाम पाँच, पाँचथर दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, सङ्खुवासभामा एक/एक वटा तालिम स्थान रहनेछ।

तालिम १५ महिना अवधिको रहनेछ। सीप विकास तालिमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ। गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोली नेता, वित्त अधिकृत, सञ्चार तथा तथ्याङ्क अधिकृत, तालिम तथा तथ्याङ्क अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालिममा सिकाइने छ।

छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) मापदण्डको तालिम गराउने परियोजनाका डा सुमित अधिकारीले बताए। डा अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालिम हुनेछ।

परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालिम गराइनेछ। विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत तीन करोड ११ लाख ५६ हजार ४६३ रुपैयाँ खर्च गरिनेछ। कूल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रुपैयाँ कार्यक्रममा खर्च गरिनेछ।

यस्तै पाँच लाख १० हजार छ सय रुपैयाँ सञ्चालन खर्च गरिनेछ भने १८ लाख ६५ हजार ५६३ रुपैयाँ प्रत्यक्ष खर्च गरिनेछ। दुई करोड ८५ लाख १६ हजार ४६३ रुपैयाँ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यन्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी संघ लिमिटेडको २६ लाख ४० हजार रुपैयाँ योगदान रहने संघका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell