अरु बेला पशुपतिमा पानी बेच्ने आनन्द यादवको आजको दिनचर्या भने फरक थियो। पानी बेचेर गुजारा गर्ने उनी आज भने पानीमा निर्धक्क चोबलिँदै थिए। काठमाडौं चिसिएको बेला वाग्मतीको पानी छोइसक्नु छैन। तर, उनमा त्यसको पर्वाह देखिएन।
बाला चतुर्दशीमा आज सतबिज छर्नेहरुको पशुपतिमा राम्रै भिड थियो। त्यही भिड आनन्दका लागि गजबको अवसर बन्यो भलै त्यो अवसर चिसो पानीमा डुबुल्की लगाउँदै लिनु कम कष्टकर थिएन।
बाला चतुर्दशीमा बत्ती बालेर जाग्राम बसेकाहरू मध्यरात दीपदानमा जुट्छन्। र, झिसमिसे हुँदा सतबिज छर्न लाग्छन्। बिहानैदेखि सतबिज छर्दै मानिसहरू पशुपति क्षेत्र परिक्रमा गर्ने गर्छन्। सतबिजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले चिच्याउँछन्। धार्मिक विश्वास अनुसार यसरी चिच्याउँदा दिवङ्गत आत्माले सन्देश पाउने गर्छ। हाल सतबिजसँगै पैसा समेत छर्ने गरिन्छ।
त्यसरी छरिने पैसाले तानेको हो आनन्द यादवलाई।
दिवङ्गत पितृका नाममा दीपदान गरी सतबिज छरेमा पितृले पाउने विश्वास गरिन्छ। भक्तजनहरू सतबिज छर्दै गर्दा पशुपतिस्थित वाग्मती नदीमा भने बालबालिकाहरू छुट्टै 'ड्युटी'मा खटिएका हुन्छन्। तिनै भिडमा आनन्द पनि मिसिएका हुन्।
अरु दिन बेग्लै काममा खटिने बालबालिकाहरू यसदिन बिहानै देखि वाग्मती नदीमा पैसा खोज्न व्यस्त हुन्छन्। बालाचतुर्दशीमा आनन्द चुम्बक लिएर वाग्मतीमा हाम्फालिरहेका थिए। उद्देश्य चाहिँ पैसा खोज्नु। यसपटक मध्यरातदेखि खटिएका उनलाई टपरीमा चढाइएको पैसा र नदीमा फालिएको पैसा टिप्ने कामको भ्याइनभ्याइ थियो।
रातो कपडाको डोरीमा बाँधिएको चुम्बकलाई पानीमा फाल्दै पैसा निकाल्ने तरखरमा थिए उनीजस्तै अर्का बालक सुमन। उनी पनि मध्यरातदेखि पैसा टिप्न पशुपतिमा खटिएका थिए। अरु बेला फोहोर उठाउन हिँड्ने उनी केही वर्षयता भने बाला चतुर्दशीका दिन रातदेखि पशुपतिमै हुन्छन्।
आइतबार दीपदानका बेला वाग्मती नदीमा टपरीमा ५०० रुपैयाँको नोट देखे उनले। नदीमा तैरिरहेको टपरी टिप्न जाँदाजाँदै ५०० रुपैयाँको नोट त्यहीँको दीपमा जल्यो। त्यो देखेर मन खिन्न भए उनी।
'पैसा यसरी बगाउनु भन्दा बरु हामीलाई दिएको भए हुन्थ्यो,' सुमनले भने।