PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तीन आधार जसले दीप बस्न्यातलाई अदालतले पठायो थुनामा



पहिलोपोस्ट

तीन आधार जसले दीप बस्न्यातलाई अदालतले पठायो थुनामा

काठमाडौंः ललिता निवास प्रकरणमा विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पक्षका लागि आइतबार थुनामा पठायो। माथिल्लो अदालतले अर्को कुनै आदेश नगरेसम्म अब बस्न्यातले मुद्दाको बाँकी प्रक्रियामा थुनामै रहेर सहभागी हुनु पर्नेछ। अदालतको आदेशसँगै उनलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ।

भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक निकायका प्रमुख भइसकेका व्यक्ति अदालतको आदेशले थुनामा पुगेको यो पहिलो पटक हो। यद्यपि अख्तियारकै पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ। अर्का पूर्व प्रमुख लोकमानसिंह कार्कीको नैतिक चरित्रमाथि प्रश्न उठाउँदै दायर मुद्दामा अदालतले उनलाई पदमुक्त नै गरेको थियो। संवैधानिक निकायमा पदासिन व्यक्ति नै एकपछि अर्को विवादास्पद काण्डमा फसेका हुन्। 

बस्न्यात किन थुनामा?

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव रहँदा सचिव रहेका बस्न्यातले अधिकार क्षेत्र मिचेर कागजात तयार पारेको, नक्कली मोही र जग्गाधनी कायम गरेको आरोप अख्तियारको छ।

आइतबार अदालतमा उपस्थित भएका बस्न्यातलाई अदालतले तीन आधारमा थुनामा पठाएको छ। विशेष अदालतले अभियुक्तले अभियोग स्वयम स्वीकार गरेकोलाई थुनछेकका क्रममा थुनामा पठाउने आधार मानेको छ। आइतबार अदालतमा भएको बयानमा उनले जग्गासम्बन्धी निर्णयको प्रस्ताव आफैँले तयार पारेको र पेस गरेको स्वीकार गरेका छन्।

प्रस्तावले अघि बढेको कार्य अनुसार ललिता निवासको जग्गा मोही खडा गरिएका व्यक्तिका नाममा कायम भएका थिए। कतिपयले जग्गा किनबेच नै गरेका थिए।

अदालतले बस्न्यातले नक्कली जग्गाधनी कायम गरेकोलाई पनि थुनामा पठाउने आधार मानेको छ। यस्तै, नक्कली मोही खडा गरेर जग्गा हस्तान्तरणलाई पनि तत्काल प्राप्त प्रमाण र बयानले समर्थन गरेको अदालतको निष्कर्ष छ।

अदालतले यसअघि पूर्व डम्बर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गरेको थियो। यस्तै, पूर्व सचिव दिनेशहरि अधिकारलाई पनि धरौटीमा नै रिहा गरेको थियो। पूर्वमन्त्री चन्द्रदेव जोशी भने साधरण तारेखमा रिहा भएका थिए।

अब सो प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारलगायतका प्रतिवादी अदालतमा उपस्थित हुन बाँकी छ। थुनछेक प्रक्रिया सकिएपछि मुद्दाको अन्तिम सुनुवाइको प्रक्रिया प्रारम्भ हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell