इटालियन सिरि ए अन्तर्गत गएराति भएको खेलमा युभेन्टसले जेनोआ माथि जित निकालेको छ। लुइगी फेरारिस स्टेडियममा भएको खेलमा युभेन्टसले घरेलु टोलीमाथि ३-१ गोल अन्तरले जित निकालेको हो।
युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा पाउलो डिब्यालाले एक गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा डिब्यालाले युभेन्टसलाई अग्रता दिलाए। उनले खेलको ५७ औं मिनेटमा गोल गरेका थिए। तर उनको अग्रता लामो समय टिक्न भने सकेन। खेलको ६१ औं मिनेटमै स्टेफानो स्टुरारोले घरेलु टोलीका लागि गोल गर्दै गर्दै खेल बराबरीमा ल्याए।
त्यस्तै खेलको ७८ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई फेरि अग्रता दिलाए। त्यस्तै ८९ मिनेटमा पनि रोनाल्डोले युभेन्टसका लागि अर्को गोल थपे। उनले दुबै गोल पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दे गरेका थिए।
जितसँगै युभेन्टस तालिकाको चौथो स्थानमा पुगेको छ। सिरि ए को अंकतालिकामा ११ खेल खेलेको एसी मिलान २७ अंकसहित शीर्ष स्थानमा छ भने समान खेल खेलेको इन्टर मिलान २४ अंकसहित दोस्रो स्थानमा छ। त्यस्तै समान २३ अंकसहित नापोली र युभेन्टस तालिकाको तेस्रो र चौथो स्थानमा छन्।
