PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बहुमतको सरकार बनाएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने काँग्रेस महामन्त्री शशाङ्क कोइरालाको उद्घोष



अनन्तराज न्यौपाने

बहुमतको सरकार बनाएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने काँग्रेस महामन्त्री शशाङ्क कोइरालाको उद्घोष

विराटनगर : नेपाली काङ्ग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत ल्याएर हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रह गराउने बताएका छन्।

पार्टीले सोमवार गर्न लागेको प्रदर्शनमा नेतृत्वका लागि विराटनगर आइपुगेका महामन्त्री डाक्टर कोइरालाले बिहान कोइराला निवासमा स्थानीय संवाददाताहरूसित कुरा गर्दै हिन्दु राष्ट्रका लागि जनमत सङ्ग्रहको अवधारणा अघि सारेका हुन्।

कोइरालाले भने, ‘नेपाल हिन्दु राष्ट्र हुनुपर्छ। यसका लागि नेपाली काङ्ग्रेसको आगामी सरकारले जनमत सङ्ग्रह गराउने छ।’

उनले पार्टीको आगामी महाधिवेशनमा कोइराला परिवारबाट सल्लाह गरेर सभापतिमा उम्मेदवारी दिने जानकारी दिए ।

उनको भनाइ थियो, ‘जो उम्मेदवार हुन्छ सरसल्लाहले हुन्छ। शेखर, सुजाता र म तीन जना बसेर छलफल गरेर सभापतिको एक जना उम्मेदवारको निर्णय गर्नेछौँ।’

कोइरालाले आफूलाई यसअघिको महाधिवेशनमा सभापति देउवाले भावी सभापति डाक्टर साब तपाईं हो भनेर आश्वासन दिएको स्मरण गरे।

‘तर त्यो कोर्स अब पुरानो भएको छ’, उनको कथन थियो, ‘अहिलेको सिनारियो हेर्दा देउवाजी फेरि उम्मेदवार हुने देखिएको छ।’

उनले आगामी फागुनमा पार्टीको महाधिवेशन हुन नसक्ने स्पष्ट पार्दै आगामी जेठ अन्तिमदेखि असारको पहिलो हप्तामा महाधिवेशन हुने जानकारी दिए।

कोइरालाले वर्तमान सरकार असफल भइसकेको उल्लेख गर्दै यो सरकार सङ्घीयतालाई विफल तुल्याउन लागिपरको टिप्पणी गरे।
उनले भने, ‘यो सरकार प्रदेश र स्थानीय तहलाई अधिकार दिन चाहँदैन। सङ्घीयतालाई कार्यान्वयन गर्न मान्दैन। यो सरकार सङ्घीयताविरोधी छ।’

उनले कोभिड–१९ को महामारीका बेलामा पनि सरकारविरूद्ध प्रदर्शन गर्नु नेपाली काङ्ग्रेसको बाध्यता भएको बताए।

‘सरकारमा चरम विकृति छ’, कोइरालाको आक्रोश थियो, ‘जताजतै भ्रष्टाचार, विकृति र विसङ्गति मात्र छ। हाम्रा नेता रामचन्द्र पौडेललाई सरकारले दुर्व्यवहार गरेको छ। यस्ता बेलामा प्रदर्शनमा उत्रनु नेपाली काङ्ग्रेसका लागि बाध्यता भएको छ।’

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell