PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

लैङ्गिकता ढाँटेर विवाह, के कारवाही गर्ने? प्रहरी अन्यौलमा



कमलराज भट्ट

लैङ्गिकता ढाँटेर विवाह, के कारवाही गर्ने? प्रहरी अन्यौलमा

लगातार तीन चार महिनादेखि फोनमा कुराकानी भइरहेको थियो बेलौरी नगरपालिका ७ का २५ वर्षीय सुमन र बेलडाँडी गाउँपालिकाका कि १८ वर्षिया अनुजा (परिवर्तित नाम) को। कुराकानीकै भरमा सुमनले अनुजालाई विवाहको प्रस्ताव राखे। केही समयको गहिरो प्रेमलाई अनुजाले नकार्न सकिनन्। 

फोनकै कुराकानीमा बसेको मायाले अनुजालाई नसोचेको परिणाम दिलायो। 

प्रेमलाई विवाहमा परिणत गर्नुपर्छ, सँगै जीवन बिताउनुपर्छ भनेर सुमनले अनुजालाई भनिरहन्थे। प्रेममा परेर एकअर्काबिना एकपल पनि बस्न नसक्ने अवस्थामा पुगिसकेकाे अनुजा सुनाउँछिन्। यस्तैमा एकदिन घरमा प्रेम प्रसंग बारे सुनाएपछि उनीहरूबीच विवाह हुने पक्का नै भयो। तर तत्काल विवाह गर्नका लागि आर्थिक अवस्थाले नभ्याउने भएकाले दुवै जनालाई टिकाटालो गरी पठाएको अनुजाका दाइले बताए। उनीहरुको विवाह भयो।

अनुजा र उनका परिवारलाई सुमनले आफू गैरसरकारी संस्थामा जागिरे रहेको समेत बताएका रहेछन्।

टिकाटालो गरी ल्याएपछि सुमनले शुक्लाफाँटा नगरपालिका वडा नं ४ स्थित असैनामा डेरा गरेर बस्दै आएको घरमा अनुजालाई ल्याएर राखे। सँगै सुत्दा समेत शारीरिक सम्बन्ध नराख्ने र टाढिन थालेपछि उनले शंका गरिछिन्। त्यसपछि मात्रै उनले थाहा पाइन् सुमन केटा नभएर केटी नै रहेछिन्। 

हिँड्दा, उठ्दा, बस्दा, बोल्दा, शारीरिक बनोट हेर्दा अनि कपालको कटाई र पहिरनले सुमन केटाजस्तै देखिन्थे।

'म पनि केटी नै हुँ भनेर उसले स्वीकारेपछि माइतीलाई फोन गरेर सबै कुरा अभिभावकलाई बताइदिएँ', अनुजाले भनिन्। रुँदै आफ्ना अभिभावकलाई जब सुमनका बारेमा जानकारी दिएँ, त्यसपछि माइती सबैको होस उड्यो। त्यसपछि उनका अभिभावकले यसबारे ईलाका प्रहरी कार्यालय झलारीमा ललाइफकाई विवाह गरेर ल्याएको कुरा उल्लेख गर्दै उजुरी गरे।

प्रहरीले सुमन र अनुजालाई सँगै राखेर शनिवार कुरा गर्न लगाउँदा केटीले नै केटीलाई झुक्याई विवाह गरेको कुरा खुल्यो। सुमनले बहाइ धर्म प्रचारक भएदेखि नाम परिवर्तन गरेका रहेछन्। सुमनकी आमा राम दुलारी रानाले उनी छोरी नै भएको बताएकी छिन्। ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्ण बहादुर बोहराले दुवै जनालाई अभिभावको जिम्मा लगाइएको बताए।

'अनुसन्धान जारी छ', उनले भने, 'अन्य प्रयोजनका लागि विवाह गरेको रहेछ भने कारवाही प्रकृया अगाडी बढ्छ।' 

सुमनको भनाईलाई उद्धृत गर्दै प्रहरी निरीक्षक बोहराले भने, 'सबै थोक दिन सक्छु तर सुखभोग दिन सक्दैन भनेर उनले सबै सामु भनेका छन्।' उनको परिवारका अनुसार सानै देखि सुमन केटाकै हाउभाउ देखाउने गरेको खुलेको छ। 

यसलाई आफ्नो क्षेत्रको नयाँ घटना भएको बताउँछन् प्रहरी निरीक्षक बोहरा। यस विषयमा समाज उदार नभइसकेकाले छलेर विवाह गर्नुलाई समाजले अपराध मान्ने उनको तर्क छ। भने,'लैङ्गिकतासँग जोडिएको यस विषयमाथि खुलेर कुराकानी नहुने भएकाले यो अवस्था आएको हुनसक्छ। समस्या समाधानको कानूनी बाटो खोज्दैछौं। भलै यस सम्बन्धमा स्पष्ट कानून छैन।' 

लैङ्गिकता ढाँटेर विवाह गरेको विषयमा कुनै कानून नभएको र यस घटनाका पीडितले विवाह बदरको निवेदनसहित (देवानी संहिता अन्तर्गत्) अदालत जान सक्ने प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell