PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा : गगन थापा



पहिलोपोस्ट

बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा : गगन थापा

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बरालिएको सरकारलाई ठेगानमा ल्याउन कांग्रेस सडकमा आएको बताएका छन्। ठेगानमा नआएसम्म कांग्रेस घर नफर्किने उनको भनाई थियो।

कैलालीको धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनतालाई घरभित्र राखेर कोरोना महाव्याधीको नियन्त्रणमा लाग्छु भन्दै संसदबाट भागेको, बालुवाटारको दुलोभित्र लुकेर षडयन्त्र गरेको सरकारलाई लल्कार्नका निम्ति, बरालिएको सरकारलाई ठेगान ल्याउनका निम्ति कांग्रेस सडकमा आएको छ। अब घर फर्केर जाँदैन। जबसम्म सरकार ठेगानमा आउँदैन तबसम्म कांग्रेस सडकमा आइरहन्छ।’

महामारीका बेला संसद बन्द हुँदा सडक खाली भए पनि सरकारलाई मद्दत गर्न आफूहरु धैर्य गरेर बसेको भन्दै थापाले कोरोना महामारीका बीच सडकमा आउन बाध्य पार्दा दु:ख लागेको बताए। ‘सडकमा आउन बाध्य सरकारले बनायो। हामी सबै सतर्कता अपनाउँछौं। यसमा बाबजुद पनि कुनै क्षति भयो भने सरकार जिम्मेवार हुन्छ,’ थापाले भने।

झण्डै दुईतिहाइ मतको सरकार शक्तिशाली भए पनि जनतालाई शक्तिशाली बनाउनका निम्ति एउटा पनि काम गर्न नसकेको उनको आरोप छ। ‘नालायक सरकार मुर्दावाद,’ गगनले धनगढीमा नारा लगाए, ‘देश र जनताको आकांक्षा प्रति यसको पटक्कै पनि संवेदना छैन। व्यक्ति पूजामा लागेको छ। तत्कालै गर्ने काम गर्दैन। कहिल्यै पूरा नहुने हावादारी गफमा झुक्याउँछ। हावादारी सरकार मुर्दावाद।’

सरकारले मुखले भ्रष्टाचार गर्दिन, सहन्न भन्ने गरेको तर वाइडबडी, सेक्युरिटी प्रेस खर्लप्पै खान्छ, बालुवाटारको जग्गा खर्लप्पै खान्छ, यति ग्रुपसँग साठगाँठ गर्छ भन्दै आलोचना गरे। सरकार पूर्ण रुपमा असफल भइसकेको उनको भनाई थियो।

इतिहासकै भ्रष्ट सरकारलाई ठेगानमा ल्‍याउन कांग्रेस सडक र सदनबाट लड्छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell