काठमाडौं: चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गौतम बुद्ध कप अन्तर्गतको आजको खेलामा राप्तीले नारायणीमाथि जित निकालेको छ।
करण केसीको कप्तानीमा रहेको नारायणी र बिनोद भण्डारीको कप्तानीमा रहेको राप्तीबीच भएको खेलमा राप्तीले १ विकेटले जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनायो। नारायणीका लागि आक्रामक ब्याटिङ गरेका किसोर महतोले अभिजित रहँदै सर्वाधिक ३६ रन बनाउँदा करण केसीले ३२ रन बनाए। त्यस्तै सुसन भारीले १८ रन, रित पाण्डेले १३ र इसान पाण्डेले १० रन बनाए।
राप्तीका लागि सूर्य तामाङ र अभिनास बोहोराले सर्वाधिक २/२विकेट लिँदा जितेन्द्र मुखिया, कमल सिंह र भुवन कार्कीले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राप्तीले एक बल बाँकी छँदा ९ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। राप्तीका लागि कुशल भूर्तेलले सर्वाधिक ६५ रन बनाउँदा कमल सिंह २४ रनमा अभिजित रहे। त्यस्तै आशिफ शेखले १४ र सुमित महर्जनले १२ रन बनाए।
नारायणीका लागि करण केसीले ३ विकेट लिँदा किशोर महतो र शुसन भारीले समान २/२ विकेट लिए। त्यस्तै दीपेश श्रेष्ठ र सहाब आलमले १/१ विकेट लिए।
