PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कमल थापाको गृहजिल्लामा देउवाको गर्जन : राजा फेरि फर्किने कुरो छैन, ओलीकै कारण ‘राजा आउ देश बचाउ’ भनेर कराउँदैछन्



पहिलोपोस्ट

कमल थापाको गृहजिल्लामा देउवाको गर्जन : राजा फेरि फर्किने कुरो छैन, ओलीकै कारण ‘राजा आउ देश बचाउ’ भनेर कराउँदैछन्

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि राजा फर्किने सम्भावना नभएको बताएका छन्।

मकवानपुरको हेटौडामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले केपी ओलीको कम्युनिस्ट सरकारको रवैयाका कारण राजावादी तत्व सल्बलाएको र आजित भएका जनताले पनि केही हुन्छ कि भनेर सोच्न थालेको बताए।

‘राजा आउ देश बचाउ भन्ने नारा लाग्नुमा कम्युनिस्ट सरकार जिम्मेवार छ। राजा ज्ञानेन्द्रले मलाई थुन्दा स्वतन्त्र न्यायलयले रिहा गर्‍यो। अहिले त ओली सरकारले अदालतमा कम्युनिस्टकरण गरिरहेको छ। राजा आउ भन्नेहरु ओलीकै कारण बोलिरहेका छन्,’ देउवाले भने, ‘कांग्रेसले त्रिभुवनलाई भारतबाट फर्काएर ल्याएकै हो। महेन्द्रलाई पनि मानेकै हो। तर प्रजातन्त्रलाई देखिसहेनन्। फेरि फर्किने कुरो छैन। राजा आउ देश बचाउ भनेर कराउनेहरु ओलीकै कारण कराइराख्या छन्।’

ओलीको स्वेच्छाचारीका कारणले यस्ता तत्वहरु बोलिरहेको भन्दै देउवाले सबैको समावेशी गणतन्त्रलाई नै सुधार्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे। ‘गणतन्त्रलाई राम्रो बनाउने हो, सुधार्ने हो। जनताप्रति जिम्मेवार बनाउ। जनता कांग्रेससँग छन्। कम्युनिस्ट मुक्त बनाउनुपर्छ।’

राप्रपाले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डा उठाइ रहेका बेला र अहिले भइरहेको आन्दोलनलाई समर्थन गरिरहेका बेला कांग्रेस सभापति देउवाले राप्रपा अध्यक्ष कमल थापाको गृहजिल्ला पुगेर राजा फर्किने कुनै सम्भावना नभएको बताएका हुन्।

देउवाले कोरोना महामारीका बेला कांग्रेस सडकमा आउनु बाध्यता भएको बताए। यसका लागि उनले जनतासँग माफी पनि मागे।

कम्युनिस्ट सरकारले एकदलीय सर्वसत्तावाद लागु गर्न खोजेको भन्दै त्यसको विरोधमा सडकमा आएको उनको भनाई थियो। ‘कम्युनिस्ट पार्टी एक हुँदा मैले हाँस्न, बोल्न र रुन पनि पाइने छैन भनेको थिए। अहिले कोही रोयो भने किन रोइस भनेर जेल हाल्ने अवस्था छ। रुन थाल्दा प्रहरीले लान्छ,’ उनले भने।

कोरोना महामारी विरुद्धको लडाईंमा कांग्रेसले सरकारलाई पूर्ण साथ दिएको भन्दै भ्रष्टाचार गर्दा सडकमा आउनुपरेको बताए। ‘ओलीलाई मैले कोरोनाको लडाईमा पूरा साथ हुन्छ भनेको थिए। सांसदको तलब भत्ता पनि दियौं। तर कोरोनामा पनि घुस खाने भ्रष्टाचार गर्ने काम गरे,’ देउवाले भने, ‘ओली राजमा बलात्कार बढे। शून्य सहनशीलता भनेर निर्मला पन्तका हत्यारालाई अहिलेसम्म कारवाही भएको छैन। एकलौटी शासन गरेर लेख्न, बोल्न पनि बन्द खोजिरहेको छ। प्रजातन्त्रको रक्षा र कोरोना महामारी विरुद्धको लडाईका लागि हामी सडकमा आएका छौं। कम्युनिस्टबाट जनता आजित भइसकेका छन्। मुक्त पार्न देशभर आन्दोलन गर्छौं।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell