PahiloPost

May 15, 2024 | २ जेठ २०८१

सरकारको दिमाग नभएको भन्दै रत्नपार्कमा मुमुर्रिए रामचन्द्र पौडेल : राजावादीलाई प्रश्न, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको?'



नेत्र तामाङ

सरकारको दिमाग नभएको भन्दै रत्नपार्कमा मुमुर्रिए रामचन्द्र पौडेल : राजावादीलाई प्रश्न, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको?'

काठमाडौं : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको सरकारसँग कुनै योजना र 'आइडिया' नभएको आरोप लगाएका छन्। काँग्रेसले आज काठमाडौंको रत्नपार्कमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग कुनै योजना नभएको आरोप लगाएका हुन्।

'सरकारले काम गरेन। यिनीहरुसँग आइडिया छैन। कुनै योजना छैन। चुनावमा हामी जनतासँग यसको हिसाब माग्छौ,' पौडेलले भने।

पौडेलले सम्बोधनको क्रममा तनहुँमा पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले आफूलाई पक्राउ गरेको घट्ना पनि सम्झे। आफूमाथि भएको आक्रमणबारे भने, 'राणाको पालामा रुख रोप्दा काँग्रेसको टाउको फुट्थे। अहिले यो सरकारको पालामा पुल बन्दा करङ भाँचिदैछन्।'

त्यसैगरी पौडेलले अहिलेको प्रतिगामी सरकार अतीततिर फर्केको र काँग्रेसको सपना भविष्यतिर अघि बढेको समेत बताए। 'समाजवादीको स्वर्ग भविष्यमा हुन्छ। प्रतिगामीको अतितमा,' उनले भने।

नेकपाभित्रै विवाद बढ्दै गइरहेको अवस्थामा पौडेलले नेकपाका नेताहरुलाई अहिलेको नेतृत्व परिवर्तन गर्ने हो भने संसदबाट फेर्नसमेत सुझाव दिए। भने, 'प्रधानमन्त्री फेरे संसदबाट फेर्नुस्। प्रतिगमनमा नलाग्नुस्।'

लोकतन्त्र र कानुनी राज्यमा काँग्रेस पहिलेदेखि नै रहेको दाबी गर्दै पौडेलले भने, 'हामीले पनि सरकार चलायौं। हामी पनि सबै दुधले नुहाएका छैन होला। तर कानुन बनाएर कारबाही भोगेका छौं। आफै दण्डित भएका छौं।'

प्रतिगामी कदम रोक्न नै आज देशभर काँग्रेसले प्रदर्शन गरेको उनको भनाई थियो। वर्तमान सरकारले आफ्नो पक्षका मान्छेलाई जोगाएर खतमाफ वर्ग जन्माएको आरोपसमेत लगाए। भने, 'सरकारले खतमाफ वर्ग जन्माएको छ। सबै माफी पाउने वर्ग कम्युनिस्टमा छ। कोही कारबाहीमा पर्दैनन्। खत माफ गरिएको छ।'

यो सरकारले काम नगरेको भन्नेबारे जनताले थाह पाइसकेको र कसैले केही भन्नै नपर्ने उनको भनाई थियो। पौडेलले भने, 'उसकै सचिवालयको बहुमत सदस्यले भनिसकेको छ। भ्रष्टाचारी सरकार भनेर।' सरकारले जनताको पक्षमा काम गर्ने आयोगहरुलाई पंगु बनाइएको समेत पौडेलको आरोप थियो।

राजावादीलाई प्रश्न : कस्तो राजा ल्याउन खोजेको?

पौडेलले पछिल्ला दिनहरुमा राजतन्त्रको पक्षमा भएका प्रदर्शनबारेसमेत प्रश्न उठाएका छन्।

उनले राजतन्त्रले प्रजातन्त्र खोस्ने उल्लेख गर्दै अहिले राजावादीले टाउको उठाउनुमा वर्तमान सरकार नै दोषी रहेको दाबी गरे। पौडेलको प्रश्न थियो, 'तिमीहरुले कस्तो राजा ल्याउन खोजेको? माओवादी जन्माएर प्रजातन्त्र मास्ने राजा ल्याउन खोजेको कि १७ सालमा पञ्चायत लाद्ने राजा ल्याउन खोजेको?'

अहिले विप्लवको वितण्डा पनि सरकारकै कारण आएको उल्लेख गर्दै उनले कम्युनिस्टले वितण्डा मच्चाउनबाहेक केही नजान्ने दाबी गरे। भने, 'कम्युनिस्टहरु वितण्डा मच्चाउन सक्छन्, समाधान दिन सक्दैनन्। समृद्धि यसरी आउँछ?'

नेत्रविक्रम चन्द विप्लवको वितण्डा समाधान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुपर्ने पौडेलको भनाई थियो। 'विप्लवको वितण्डा प्रचण्डले सामधान गर्नुपर्छ। सर्पको खुट्टा सर्पले देख्छ।'

काँग्रेसका केही कमजोरी भए सुधारेर अघि बढ्न आफूहरु तयार रहेको पौडेलले बताए। उनले नेपालमा विकासको थालनी नै काँग्रेसले गरेको दाबी गर्दै कम्युनिस्ट सरकारले त्यति पनि सिक्न नसकेको तर्क गरेका थिए।

कसले के भने?

सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री राजन केसीले कम्युनिस्ट सत्तालाई परास्त गर्न उपत्यकावासीलाई उठ्न आह्वान गरे। उनले भने, 'कम्युनिस्टविरुद्ध उपत्यकावासी उठौं। कम्युनिस्टलाई परस्त गरौ।'

विरोध सभामा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले सरकार ढाल्न प्रचण्डलाई साथ दिन तयार रहेको बताए। 'प्रचण्डलाई हामी साथ दिन तयार छौं। अविश्वासको प्रस्ताव राख्नुस्। यो सरकार असफल भइसकेको छ।'

काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले सरकारविरुद्ध काँग्रेसले आँधी ल्याउने दाबी गरे। ओली सरकार मत्ता हात्ती बनेको उल्लेख गर्दै यही सरकारको पालामा ऋण बढेर दोब्बर पुगेको उनको भनाई थियो।

यता केन्द्रीय सदस्य डिला संग्रौलाले सरकारलाई कूर्सीमा बस्ने अधिकार समाप्त भइसकेको दाबी गरिन्।

'सत्ताका लागि झगडामा लागेको सरकार काम छैन। कोरोनामा जनताको उपचार गर्न सक्दैन भनेर हात उठाएर जनअभिमतको अपमान भइसकेको छ। सरकारले कुर्सीमा बस्ने अधिकार गुमाइसक्यो,' उनले भनिन्।

काठमाडौंका सबै क्षेत्रका क्षेत्रीय सभापतिहरुको नेतृत्वमा रत्नपार्कमा र्‍याली आइपुगेपछि विरोध र्‍याली शुरु गरिएको थियो।

र्‍याली बागबजार हुँदै पद्मोदय मोड पुगेर पुन रत्नपार्कमै फर्केर कोणसभामा परिणत भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell