काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भरतपुर, चितवनका लेखा अधिकृत, नायब सुब्बा र लेखापालविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ। आयोगका अनुसार विभिन्न फाँटबाट नगदी रसिद काटी संकलन भएको रकम लेखा शाखाबाट बैंक दाखिला नगरी हिनामिना गरेको अभियोगका आधारमा छानबिन गर्दा भ्रष्टाचार गरेको पाइएकाले उनीहरुविरुद्ध सोमवार मुद्दा दायर गरिएको हो।
आयोगले नायबसुब्बा मनोजकुमार निरौलाविरुद्ध चार लाख ७१ हजार ६१३ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। यस्तै लेखा अधिकृत रिठ्ठे दर्जीविरुद्ध सात करोड आठ लाख १७ हजार ३७ र लेखापाल बलराम सापकोटाविरुद्ध ५८ लाख ४३ हजार ८०६ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।