PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

संवैधानिक परिषदको बैठकमा किन गएनन् सभामुख?



पहिलोपोस्ट

संवैधानिक परिषदको बैठकमा किन गएनन् सभामुख?

काठमाडौं : सोमवारको संवैधानिक परिषदको बैठक बहिस्कार गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज भने सहभागी भए। तर, नेकपाबाटै संघीय संसदको सभामुख बनेका अग्निप्रसाद सापकोटा भने अनुपस्थित रहे।

संसदको सर्वोच्चताको विषय उठान गर्दै सभामुख सापकोटाले आजको बैठक बहिस्कार गरे। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलहको छायाँले ओझेलमा पर्‍यो आजको बैठक। यद्यपि, सभामुखको सचिवालयले बैठकबारे समन्वय नभएको भन्दै सहभागी हुन नसकेको प्रस्ट्याएको छ।

'पहिलो पटक संसद् सेवा दिवसकै दिन बैठक बोलाइयो। त्यसमा समन्वय भएन। पत्रमार्फत् बैठकको जानकारी दिइएको थियो। कार्यसूची लगायतबारे अन्य कुनै जानकारी थिएन। त्यस दिन संसद् दिवस भएकाले जान समस्या नै थियो,' सचिवालयले सोमवारको बैठकमा सहभागी नभएको बारे भनेको छ।

आजको बैठकबारे कुनै पनि माध्यमबाट जानकारी नभएकाले बैठकमा सहभागी नभएको सभामुखको सचिवालयले जनाएको छ।

'लगत्तै मंगलवार पुनः बैठक बोलाइएको भन्ने जानकारी भयो। तर, पहिलेको बैठकको निरन्तरता हो वा अन्य के हो? यसबारे कुनै पनि माध्यमबाट जानकारी नै भएन,' सचिवालयले भनेको छ, 'संसद्को स्वायत्ततालाई मान्ने हो भने त उहाँहरुले कम्तीमा जानकारी दिनुपर्‍यो। छ रे! भनेर जाने कुरा भएन। कार्यसूची के हो? जानकारी दिनपर्‍यो। पत्र वा टेलिफोन कुनै पनि माध्यमबाट बैठकको जानकारी भएन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell