काठमाडौं: चितवनस्थित निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सम्पन्न गौतम बुद्ध कप प्रतियोगिताको उपाधि राप्तीले जितेको छ। आज सम्पन्न खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको राप्तीले करण केसीको कप्तानीमा रहेको नारायणीलाई ९ रनले हराउँदै उपाधि जितेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो। राप्तीका लागिका लागि कुशल भुर्तेलले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान बिनोद भण्डारीले ३३, सुमित महर्जनले २२ तथा अमित श्रेष्ठले १८ रन बनाए।
नारायणीका लागि सहाब आलमले सर्वाधिक ३ विकेट लिदाँ शुसन भारीले २ तथा करण केसीले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको नारायणी १३४ रनमा समेटियो। नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४८ रन बनाउँदा रित गौतम र इसान पाण्डेले समान २७/२७ रन जोडे। त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
नारायणीलाई लक्ष्यसम्म पुग्न नदिन अभिनास बोहोराले सर्वाधिक ३ विकेट लिँदा भुवन कार्कीले २ र कमल सिंह र जितेन्द्र मुखियाले समान १/१ विकेट लिए।
