PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बिच्किए देउवा, पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने, बिहानै दिएका थिए चेतावनी



पहिलोपोस्ट

बिच्किए देउवा, पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने, बिहानै दिएका थिए चेतावनी

काठमाडौं : संवैधानिक परिषदबारे आज जारी भएको अध्यादेशले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई थप बिच्क्याएको छ।

'बिहानको बैठकमा अध्यादेश ल्याएमा सहमति हुँदैन भन्दाभन्दै दिउँसो एकाएक जारी भएको छ। अबका बैठकमा प्रमुख प्रतिपक्षी दलका नेताका हैसियतले सभापतिज्यू सहभागी हुनुहुन्न,' काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

उनका अनुसार आज बिहान डाकिएको बैठकमा अध्यादेश नल्याउन देउवाले कडा रुपमा चेतावनी दिएका थिए। हिजोमात्रै नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गरेको थियो।

'अब उहाँ (देउवा)ले पार्टीमा परामर्श नगरी कुनै पनि बैठकमा सहभागी नहुने बताउनुभएको छ,' प्रवक्ता शर्माले बताए। 

बिहान प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक कोरम नपुगेर स्थगित भएको थियो। त्यसैको झोकमा प्रधानमन्त्री ओलीले अध्यादेशको सिफारिस गरेका थिए। मन्त्रिपरिषदबाट सिफारिस गरिएको भए पनि मन्त्रीहरुले त्यस विषयमा कुनै छलफल नै नभएको बताएका छन्।

यता राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी फुटाउन जारी गरेको अध्यादेश जसरी हतार हतार पारित् गरेकी थिइन्, त्यही शैली पछ्याउँदै ओलीले गरेको सिफारिसलाई जारी गरेकी छिन्।

नेकपाभित्रको किचलोका बीच प्रधानमन्त्री ओलीका कारण मुलुकको राजनीति पुन: अस्थिरतातिर धकेलिएको छ। साथै देउवा अनुपस्थित हुने विषयले संवैधानिक परिषदको बैठक कसरी अगाडि बढ्छ सबैको चासोको विषय बनेको छ। ओलीले आजै बेलुकी ५ बजेलाई बैठक बोलाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell