काठमाडौं : सरकारले एकाएक ल्याएको अध्यादेशले राजनीति तरङ्गित हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा जस्तै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा पनि गुट भेला जारी छ।
खुमलटारमा नेकपाका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु छलफलमा रहेका छन्। प्रधानमन्त्री ओलीले संवैधानिक निकायबारे सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन्।
ओलीको यस्तो राजनीतिक कदमसँगै नेकपाभित्रको किचलो थप जटिल मोडमा पुगेको छ भने मुलुकको राजनीतिक भविष्य पनि अन्यौलतातर्फ धकेलिएको छ। सत्तारुढ दलभित्रको गुटगत राजनीति कार्यकर्ता तहसम्म फैलिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो रक्षार्थ अध्यादेशमार्फत् राजनीतिक गतिविधि अगाडि बढाउने प्रयास गरेका छन्। यसमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा रुपमा विरोध जनाइसकेको छ।
खुमलटारको गुट भेलाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको कदमविरुद्ध निर्णय लिनसक्ने अपेक्षा गरिएको छ। भोलि बस्ने स्थायी कमिटी बैठमा ओलीमाथि कारवाहीको प्रकृया अगाडि बढाउनेसम्मका निर्णय हुनसक्ने स्रोतले बताएको छ।
