काठमाडौं : पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संवैधानिक परिषदलाई तीन जनाको 'ओली परिषद'को सज्ञा दिएका छन्।
सरकारले एकाएक ल्याएको संवैधानिक आयोगसम्बन्धी अध्यादेशबारे टिप्पणी गर्दै डाक्टर भट्टराईले निम्छरा संवैधानिक आयोग ओली परिषद् बनेको जनाएका हुन्।
'त्यसै त निम्छरा संवैधानिक आयोग, अब अध्यादेश मार्फत् बनेको तीन जनाको ओली परिषदले ओलीका खल्तीबाट निस्केका नाम राखेर भरेपछि कस्तो बन्लान्,' भट्टराईले ट्विट गर्दै भनेका छन्, 'त्यत्रो बलिदान मार्फत् स्थापित गणतन्त्रको चीर हरण गरेर प्रतिगमनको आधार तयार गरिनै लागेको हो त?'
उनले अर्को विनाशकारी अध्यादेश अघि नै संसद अधिवेशन बोलाउनुपर्ने जनाएका छन्।
आजको अध्यादेशले मुलुकको राजनीति तरङ्गित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नेकपा गुटको भेला जारी छ।
प्रधानमन्त्री ओलीले संवैधानिक निकायबारे सिफारिस गरेको अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छिन्।
ओलीको यस्तो राजनीतिक कदमसँगै नेकपाभित्रको किचलो थप जटिल मोडमा पुगेको छ भने मुलुकको राजनीतिक भविष्य पनि अन्यौलतातर्फ धकेलिएको छ। सत्तारुढ दलभित्रको गुटगत राजनीति कार्यकर्ता तहसम्म फैलिसकेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो रक्षार्थ अध्यादेशमार्फत् राजनीतिक गतिविधि अगाडि बढाउने प्रयास गरेका छन्। यसमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा रुपमा विरोध जनाइसकेको छ।
