PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग मन्त्रालयले कारबाही गर्ने



पहिलोपोस्ट

चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग मन्त्रालयले कारबाही गर्ने

काठमाडौं : चिनी उद्योगीहरुले किसानको पैसा नतिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारबाही गर्ने भएको छ। मंगलवार मन्त्रालयमा चिनी उद्योगीहरुसँग भएको छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको पैसा भुक्तानी नगरे कारबाही गर्ने बताएका हुन्।

उद्योगीहरुसँगको भेटपछि मन्त्रालयका प्रवक्ता डा नारायण प्रसाद रेग्मीले चिनी उत्पादक संघका अध्यक्षलाई किसानको भुक्तानी नदिए उद्योगीहरुलाई मन्त्रालयले कारबाही गर्ने जानकारी गराएको बताए।

उनले भने, ‘अध्यक्षलाई हामीले भन्यौं, तपाईहरुको उद्योग हाम्रो मन्त्रालय अन्तर्गत भएको हुनाले उद्योगीहरुको हकहितको साथै किसानको हकहित पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले किसान पहिलो हुन, किसानको तिर्नुपर्ने पैसा तपाईहरुले तिर्नुहोस्, उद्योगीहरुसँग कुरा गर्नुहोस्, होइन भने नेपाल सरकार प्रचलित कानुन बमोजिम जान्छ भन्यौँ।’

प्रवक्ता रेग्मीले किसानका समस्या समाधानका लागि मन्त्रालय संवेदनशिल भएको पनि बताए। किसानलाई मन्त्रालयमा छलफलका लागि बोलाइएको तर नआएपछि फेरि पत्र दिएर छलफलमा आउन आग्रह गरिएको पनि उनले बताए।

चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले पनि उद्योग मन्त्री भट्टले हदै सम्मको कारबाही गरेर भएपनि किसानलाई पैसा दिलाउने कुरा राखेको बताए। आफूले भने फेरि एकपटक पैसा भुक्तानीका लागि छोटो समय दिन आग्रह गरेको बताए।

उखु किसानहरु उद्योगीबाट लिनुपर्ने भुक्तानी दिलाइदिन माग गर्दै आइतवार यता काठमाडौंको माइतिघरमा आन्दोलन गरिरहेका छन्। चिनी मिलले आफूहरुसँग किनेको उखुको मूल्य वर्षौंदेखि नतिरेकोले भुक्तानी पाउनुपर्ने माग किसानहरुको छ। उनीहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ। -न्युज एजेन्सी नेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell