काठमाडौँः संवैधानिक परिषदको बैठक अनिर्णित भएको छ। मंगलबार साँझ बसेको दोस्रो बैठकले सिफारिससम्बन्धी कुनै पनि निर्णय नगरेको हो।
मंगलबार साँझ प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा तथा सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै बैठक बसेको थियो। बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नियुक्तिका विषयमा छलफल भएको बताए।
तर निर्णयबारे उनले केही पनि बताएनन्।
मंगलबार नै सरकारको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्को बैठक सम्बन्धी कार्यविधि संशोधनका अध्यादेश जारी गरेकी थिइन्।
अध्यादेशले गणपुरक संख्या र निर्णय प्रक्रियाबारेको व्यवस्था परिमार्जन गरेको थियो। अब अध्यक्षसहितका तीन सदस्य उपस्थित भए पनि बैठक बस्न सक्नेछ।
