PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्ने, मुख्यमन्त्री राईले गरे शिलान्यास



फूलमाया पुरी

प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला बन्ने, मुख्यमन्त्री राईले गरे शिलान्यास

विराटनगर : प्रदेश १ मा सुविधासम्पन्न जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ। आगामी असार १५ भित्रमा निर्माण सम्पन्न गर्नेगरि मंगलवार मुख्यमन्त्री शेरधन राईले प्रयोशालाको शिलान्यास गरेका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणपछि विशिष्टकृत सेवा प्रदान हुने मुख्यमन्त्री राईले बताए। त्यस्तै, हाल प्रयोगशालाका नाममा हुने गरेका बेथिति, अनियमितता, सर्वसाधारणलाई ठग्ने कार्यको पनि नियमन हुने पनि उनले दावी गरे।

‘प्रदेश जनस्वास्थ्य प्रयोगशालाले प्रयोगशालाहरुको पनि प्रयोगशालाको काम गर्ने छ,’ मुख्यमन्त्री राईले भने।

प्रयोगशाला सञ्चालनमा आएपछि विशिष्टिकृत परीक्षणका लागि काठमाडौं र भारतका विभिन्न सहरहरु जानुपर्ने समस्याको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेको भनाइ छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाटै विशिष्टिकृत परीक्षण हुने उनले बताए।

मन्त्री घिमिरेले भन्छन्, ‘प्रदेश भित्रका प्रयोगशालाको गुणस्तर मापनको जिम्मेवारी, शुल्कको नियमन, अनुगमनको काम प्रदेश प्रयोगशालाले गर्ने छ।’

शिलान्यासको ६ महिना भित्रमा निर्माण सम्पन्न हुने र ८ महिनापछि सेवा शुरु गरिने उनको दावी छ।

प्रदेश सांसद जयराम यादवले कुनैपनि परीक्षणका लागि काठमाडौं धाउनुपर्ने समस्याको अन्त्य हुने विश्वास व्यक्त गर्दै निश्चित समयमा भवन निर्माण गरी सेवा शुरु गर्न सुझाव दिएका छन्।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका अनुसार विराटनगरमा प्रदेश स्तरिय जनस्वास्थ्य निर्माण हुने गौरवको विषय भएको छ। प्रयोगशाला निर्माणका लागि आवश्यक सहयोग गर्न महानगर तयार रहेको उनले बताए।

प्रयोगशालामा जेनरल ल्याब, नसर्ने रोग, सरुवा रोग, पीसीआर भाइरल कल्चर परीक्षण लगायतका काम हुने प्रदेश जनस्वास्थ्य निर्देशक जयवेन्द्र यादवले जानकारी दिए। सेभ द चिल्ड्रेन र ग्लोबल फण्डसँगको सहायतामा जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको हो। भवन निर्माणका लागि ८ करोडको बजेट उपलब्ध गराइने सेभ द चिल्ड्रेनका बरिष्ठ व्यवस्थापक बजगाईले जानकारी दिए।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्नातकोत्तर क्याम्पसले ८ कठ्ठा १२ धुर जमिन उपलब्ध गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell