PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संसद अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगे नेकपाका सांसद



पहिलोपोस्ट

संसद अधिवेशन बोलाउन माग गर्दै शीतल निवास पुगे नेकपाका सांसद
फाइल फोटो

काठमाडौं : तत्काल संसदको अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

नेकपाका स्थायी कमिटी सदस्यहरु भीम रावल र पम्फा भुसालसहितका सांसदहरु शितल निवास पुगेका हुन्। सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेसँगै नेकपा भित्र थप विवाद उत्पन्न भएको छ। नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यादेश जारी गर्नुपूर्व छलफल नभएको र अध्यादेश संविधानको मर्म विपरित भएको बताएका छन्। अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध प्रचण्ड र वरिष्ठ नेताहर माधव नेपाल र झलनाथ खनाल पक्षले राजिनामाको माग उठाइरहेका छन्।

यस्तोमा सरकारले अध्यादेश ल्याएपछि संसद अधिवेशनको माग गर्दै सांसदहरु शीतल निवास पुगि राष्ट्रपति विद्या देवी भण्डारीलाई अधिवेशन आह्वान गर्न माग गरेका हुन्। संविधानमा सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संसदको अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

अबको १६ दिन भित्र संसदको अधिवेशन बोलाउनुपर्ने संवैधानिक वाध्यता छ। एक अधिवेशन अन्त्यपछिको ६ महिना भित्र अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

बैठक बोलाउन आह्वान गर्ने निवेदनसहित शीतल निवास पुगेका सांसदहरुले निवेदन बुझाउन पाएका छैनन्। राष्ट्रपति कार्यालयमा निवेदन दर्ता गर्ने अधिकारी नहुँदा निवेदन दर्ता नभएको बताइएको छ। उनीहरु त्यहीँ कुरेर बसिरहेका छन्। 

राष्ट्रपतिले प्रतिनिधिसभाको अधिवेशन चालु नरहेको वा बैठक स्थगित भएको अवस्थामा अधिवेशन वा बैठक बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधिसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यहरुले लिखित अनुरोध गरेमा त्यस्तो अधिवेशन वा बैठक बस्ने मिति र समय तोक्ने, त्यसरी तोकिएको मिति र समयमा प्रतिनिधिसभाको बैठक बस्ने छ भनी संविधानको धारा ९३ को उपधारा (३) मा उल्लेख छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell