काठमाडौं: नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारी नेता भेट्न घरदैलो अभियानमा छन्। यसैक्रममा बुधवार पदाधिकारीको टोली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ र नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वर पुगेको हो।
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले ती दुवै औपचारिक भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराएको छ।
सरोकारवाला निकाय एवं विज्ञहरूको समेत सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष गोल्छाले स्पष्ट पारे। निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उनले बताए।
महासंघसंगको भेटवार्तामा कांग्रेस सभापति देउवा र नेकपा वरिष्ठ नेता नेपालले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिँदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गरे। साथै दुवै नेताले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाए। साथै महासंघको नयाँ नेतृत्वको अगामी कार्ययोजनाबाट प्रभावित भएको उनीहरुको भनाई थियो।
महासंघका पदाधिकारीले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार र नेकपा अध्यक्ष प्रचण्डलाई खुमलटार पुगेर भेटेका थिए।
