PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि भए सहभागी



प्रकाश भण्डारी

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली पनि भए सहभागी

काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। अन्योलपूर्ण अवस्थाका बीच बैठक सुरु भएको हो। बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहेको उनका संचार विज्ञ रामशरण बजगाईले पहिलोपोस्टलाई जानकारी दिए।

बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको  लामो प्रतीक्षापछि बैठक सुरु भएको हो। बैठक एक बजेका लागि डाकिएको भए पनि झन्डै तीन घन्टा ढिलो गरी सुरु भएको हो। 

एक बजेका लागि डाकिएको स्थायी कमिटी बैठकका लागि पुगेका सदस्यहरु प्रधानमन्त्री ओली उपस्थित नहुँदा अन्योलपूर्ण अवस्थामा कुरिरहेका थिए।

दुई चरणमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि बैठक अघि बढेको हो।

मंसिर २१ गते देखि सुरु भएको स्थायी कमिटीको बैठकमा पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी सचिवालय बैठकमा पेश गरेको प्रस्ताव माथि छलफल हुने बताइए पनि ठोस रुपमा छलफलमा प्रवेश पाइसकेको छैन।

आज बस्ने बैठकमा सरकारले मंगलवार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश माथि छलफल हुने बताइएको छ। प्रचण्ड- नेपाल पक्षले सरकारले जारी गरेको अध्यादेशलाई असंवैधानिक भन्दै खारेजीको माग गरेका छन्। 

यसअघि ओली निकट स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। भेटमा उनले प्रचण्डलाई बैठक केही दिन पर सार्न बालुवाटारको सन्देश सुनाएको भए पनि प्रचण्डले त्यसलाई अस्वीकार गरेका थिए। 

साथै स्थायी कमिटी सदस्यहरु भीम रावल, पम्फा भुसाल सहितको नेकपाका सांसदहरु संसद अधिवेशनको माग गर्दै राष्ट्रपति निवास पुगेका थिए। उनीहरु अधिवेशन मागपत्र दर्ताका लागि त्यही प्रतीक्षामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell