PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

कीर्तिपुरको कभर्ड हल भोगचलनका लागि राखेप र नगरपालिकाबीच सम्झौता



पहिलोपोस्ट

कीर्तिपुरको कभर्ड हल भोगचलनका लागि राखेप र नगरपालिकाबीच सम्झौता
तस्बिर: राखेप

काठमाडौं: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिकाको नयाँबजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोगचलनका लागि बुधबार हस्तान्तरण गरेको छ। राखेप सदस्य–सचिव रमेशकुमार सिलवाल र कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गर्दै कभर्ड हल हस्तान्तरण गरिएको हो।

राखेपले राज्यको लगानीमा निर्माण गरेको कभर्डहल नगरपालिकालाई सञ्चालन तथा व्यवस्थापन गर्न दिने, राखेपले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, प्रशिक्षण, सेमिनार गोष्ठी गर्नु पर्ने भएमा नगरपालिकालाई पूर्व जानकारी गराउनु पर्ने र नगरपालिकाले स्वीकृति दिनु पर्ने सम्झौता भएको छ। कभर्डहलमा प्रयोग हुने टेलिफोन, खानेपानी, सुरक्षा व्यवस्था तथा त्यसको महशुल खर्चलगायत अन्य आवश्यक मर्मत सम्भारको खर्च नगरपालिकाले व्यहोर्नु पर्ने छ। नगरपालिकाले आवश्यक तथा माग अनुसार खेलकुद प्रतियोगिता, प्रशिक्षण र खेल गतिविधि सञ्चालन गर्न सक्ने, कभर्डहल सञ्चालन तथा व्यवस्थापन गर्ने क्रममा कुनै विवाद भए आपसी सहमतिमा मिलाउने तथा विवाद मिलाउन असफल भएमा प्रचलित नेपाल कानुन बमोजिम हुने तथा सम्झौतामा उल्लेख भएका शर्त बाहेक प्रचलित नेपाल कानुनमा भएका व्यवस्था परिपालना दुवै पक्षले गर्नु पर्ने सम्झौतामा उल्लेख छ।

२०७५ साल भदौ १ गतेदेखि निर्माण सुरु भएको कभर्डहल ३ करोड २ लाख ३० हजार १ सय २२ रुपैयाँ लागतमा बनेको हो। २०७६ साल कात्तिक ३० गते निर्माण सम्पन्न भएको कभर्डहल ५ सय दर्शक क्षमताको छ।

कभर्डहलमा बास्केटबल, भलिबल, टेबलटेनिस, मार्सल आर्ट्स, जुडोलगायत इन्डोर खेल खेल्न सकिने छ। १३ औं सागमा यस कभर्डहलमा फेन्सिङ र खो खो खेल भएको थियो।

सदस्य–सचिव सिलवालले कभर्डहलले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभालाई अझ तिखार्न महत्वपूर्ण अवसर दिने बताउँदै नगरपालिका र नगरवासीले कभर्डहलको भरपुर सदुयोग गर्ने विश्वास व्यक्त गरे।

मेयर महर्जनले कीर्तिपुरलाई खेलकुदको केन्द्र बनाउन सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउँदै कभर्डहलबाट विशेषगरी नगरका खेलाडी लाभान्वित हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell