काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विकास समितिहरुलाई दुई महिनाभित्र सम्पत्ति विवरण मन्त्रालयमा बुझाउन निर्देशन दिएका छन्।
बुधवार मन्त्रालय अन्तर्गतका संस्कृत सम्बद्ध निकाय (विकास समिति)हरुको अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले विकास समितिलाई गुरुयोजना निर्माण गरी अघि बढ्न निर्देशन दिँदै गुरु योजना निर्माण भए मन्त्रालयमा पेश गर्न तथा नभए तत्काल निर्माणको कार्य थालनी गर्न आग्रह समेत गरेका छन्।
मन्त्री भट्टराईले विकास समितिहरुलाई छाता ऐन बनाएर एकिकृत गर्ने योजना भएको बताउँदै महिना दिनभित्र सुझाव दिन सबैलाई आग्रह गरे। उनले विकास समितिहरुलाई मितव्ययिता अपनाउन र भेटिपाती पारदर्शिता तथा व्यवस्थित गरी लेखा परीक्षण अनिवार्य गर्न तथा बेरुजु फर्छ्यौट गर्न तर्फ लाग्न निर्देशन दिए।
उनले धार्मिक तथा साँस्कृतिक स्थलको विकासका लागि प्रदेश तथा स्थानीय तहसँग समन्वय गरेर बढी भन्दा बढी फाईदा लिन समेत आग्रह गरे। मन्त्री भट्टराईले धार्मिक स्थलहरुलाई नेपालको ऐतिहासिक अवस्था अध्ययन अनुसन्धान गर्ने थलोको रुपमा विकास गर्न आग्रह समेत गरे।
अन्तरक्रियामा पशुपति विकास कोष, लुम्बिनी विकास कोष, देवघाट क्षेत्र विकास समिति चितवन, पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङ, बौद्धनाथ क्षेत्र विकास समिति काठमाडौं, बौद्ध दर्शन प्रबर्द्धन तथा गुम्बा विकास समिति ललितपुर, बृह्तर बराह क्षेत्र विकास समिति सुनसरी, मनकामना क्षेत्र विकास समिति गोरखा, हलेस महादेवस्थान विकास समिति, खोटाङ, बृहत्तर जनकपुर क्षेत्र विकास समिति अध्यक्ष र कार्यकारी निर्देशकहरुको सहभागिता रहेको थियो।
यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको शवलाई निःशुल्क सदगत गर्ने गरी उपयुक्त व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन गरेको छ।
असहाय जीवनयापन गरी कुनै कारणवस मृत्यु हुन गई लामो समय आफन्तहरु सम्पर्कमा आउन नसकेको कारण अस्पताल तथा अन्य क्षेत्रहरुमा बेवारिसे रहेका शवहरुको सद्गत तथा व्यवस्थापन गर्न मन्त्रालयले कोषलाई निर्देशन गरेको हो। मन्त्रालयले एक वक्तव्य प्रकाशित गरी बेवारिसे शवका सम्बन्धमा सम्बन्धित स्थानीय तह, स्थानीय प्रशासन, सम्बन्धित अस्पतालबाट प्रमाणित काजगाई लिई त्यसको अभिलेख राख्न भनेको छ।
साथै, तथा उक्त काम गर्न थप बजेट आवश्यक पर्ने भएमा कार्यविधि निर्माण गरी पशुपति क्षेत्र विकास समितिको बोर्ड÷सञ्चालक समितिमा पेश गर्न उपसचिव दुर्गाप्रसाद भुर्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
