फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेनले लोरिअन्टमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले लोरिअन्टस्माथि २-० को जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफको सुरुमै लोरिअन्ट १० खेलाडीमा सीमित भएको थियो। लोरिअन्टका एन्ड्र्यु ग्राभिलोन ४९ औं मिनेटमा रातो कार्ड खाँदै बाहिरिएका थिए। उनले पीएसजीका किलियन एम्बाप्पेलाई फउल गरेका थिए। निलो कपाल बनाएर नयाँ लुक्समा देखिएका एम्बाप्पेले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दे ५१ औं मिनेटमा गोल गरे।
त्यस्तै ६१ औं मिनेटमा मोइज किनले पीएसजीका लागि अर्को गोल थपे। र खेल घरेलु टोलीले आफ्नो पक्षमा पार्यो।
जितसँगै पीएसजी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पीएसजीले १५ खेलबाट ३१ अंक जोडेको छ भने समान खेलबाट ३२ अंक बनाएको लिल शीर्ष स्थानमा छ।
