PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालुको आक्रमणबाट तीन घाइते



रासस

लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा भालुको आक्रमणबाट तीन घाइते

रसुवा : लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चालू आर्थिक वर्षमा वन्यजन्तुबाट भएका क्षतिको विवरण सार्वजनिक गरिएको छ। गत साउनदेखि मंसिर मसान्तसम्म तीन जनालाई जङ्गली भालुले आक्रमण गरी घाइते बनाएको र भालु तथा बँदेलले १४३ जनाको अन्नबालीमा नोक्सान पुर्‍याएको प्रमाणित हुन आएपछि निकुञ्ज कार्यालयले नियमानुसार राहत प्रदान गर्ने प्रक्रिया अगाडि बढाएको हो।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाका अनुसार भालुको आक्रमणबाट घाइते हुनेका लागि सरकारी अस्पतालको बिलबमोजिम र अन्नबाली क्षति भएका किसानका हकमा क्षतिको तुलना गरी बढीमा १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने कानुनी प्रवधानअनुरूप राहत प्रदान गर्न लागिएको हो।

भालुले घाइते बनाएका तीनैजना उपचारपछि घर फर्किसकेका र राहतस्वरूप प्रदान गरिने रकम भुक्तानीका लागि प्रक्रिया अगाडि बढेको निकुञ्जले जनाएको छ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जको आधार इलाकामा गैरकानुनी तवरले चोरीका घटना भने फाट्टफुट्ट भइरहेका छन्। चालू आवमा अनुमतिबिना अवैध तरिकाले जडीबुटी संकलन गर्ने चार र काठ काट्ने एकसमेत पाँच जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही गरिएको र वन जङ्गलको सुरक्षामा नेपाली सेना कालिजङ्ग गणको योगदान महत्वपूर्ण रहेको निकुञ्जले जनाएको छ।

रसुवा, नुवाकोट र सिन्धुपाल्चोकको हिमाली भूभागमा एक हजार ७१० वर्ग किमी क्षेत्रफल भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा दरबन्दीअनुरूप कर्मचारीको सङ्ख्या कमी भएका कारण संरक्षणको अनुगमनमा निकै कठिनाइ आएको छ। प्रमुखसहित ९६ कर्मचारीको दरबन्दी तालिका रहे पनि हाल ६९ मात्र कर्मचारी कार्यरत रहेको निकुञ्जको कर्मचारी प्रशासन शाखाका नायब सुब्बा रमेश गौडा बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell