काठमाडौंः सरकारले संवैधानिक परिषद् ऐन संशोधनका लागि सिफारिस गरी जारी भइसकेको अध्यादेश फिर्ताको निर्णय गरेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अध्यादेश फिर्ता लिएको हो। चौतर्फी आलोचना भएपछि बुधबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच अध्यादेश फिर्ताको सहमति भएको थियो।
बैठकले अध्यादेश फिर्ता गरेको एक मन्त्रीले जानकारी दिए। संशोधित साविकका व्यवस्था जगाउनका लागि नयाँ अध्यादेश सिफारिस भएको पनि ती मन्त्रीको भनाई छ। फिर्ता र साविकको व्यवस्था जगाउन अध्यादेशको जानकारी अब राष्ट्रपतिसमक्ष पठाइनेछ।
यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेकी थिइन्। जारी भएकै भोलिपल्ट अध्यादेश फिर्ताको सहमति भएको थियो।
यसअघि गत वैशाखमा पनि परिषद्सम्बन्धी अध्यादेश जारी भएपछि फिर्ता भएको थियो।
