PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

झण्डै एक लाख जनामा गरिएको परीक्षणमा सात हजारमा संक्रमण पुष्टि, यस्तो छ कर्णालीमा कोरोनाको अवस्था



पी बी खड्का

झण्डै एक लाख जनामा गरिएको परीक्षणमा सात हजारमा संक्रमण पुष्टि, यस्तो छ कर्णालीमा कोरोनाको अवस्था

सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस भए/नभएको आरटी-पीसीआर परीक्षण झण्डै एक लाख जनामा गरिएको छ।

मंसिर ३० गतेसम्म ९४ लाख पाँच सय १५ स्वाबको नमुना परीक्षण गरिएकोमध्ये सात हजार एक सय २५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। संक्रमणको दर नेपालमा १३ दशमलव ६ रहेकोमा कर्णाली प्रदेशमा ७ दशमलव ५ रहेको छ।

सबैभन्दा बढी युवाहरु संक्रमित

कर्णाली प्रदेशमा हालसम्म संक्रमितहरुमध्ये सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका रहेका छन्। जम्मा संक्रमितमध्ये यो उमेर समूहका दुई हजार पाँच सय ६२ रहेको छ।

त्यसैगरी, ३० देखि ३९ वर्ष उमेर समूहका एक हजार नौ सय २७ जनामा संक्रमण देखिएकोमा ४० देखि ४९ वर्ष उमेर समूहका नौ सय सात जना छन्। ५० वर्ष उमेर समूहदेखि माथिका सात सय २६ संक्रमित रहेका छन् भने १० देखि १९ वर्ष उमेर समूहका सात सय ७१ जना रहेका छन्।

त्यस्तै, एक वर्षदेखि नौ वर्ष उमेर समूहका दुई सय १७ जना रहेकोमा एक वर्ष मुनिका १५ जना बालबालिकामा संक्रमण पुष्टि भएको छ।

९ वटा प्रयोगशालामा गरियो परीक्षण

कर्णाली प्रदेशमा गणना भएका प्रयोगशालागत संक्रमितको संख्या हेर्दा सबैभन्दा बढी प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा पाँच हजार ६५ जनामा संक्रमण पुष्टि भएको छ भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, दैलेख अस्पतालमा ६ सय ४०, चौरजहारी नगरपालिका रुकुमपश्चिममा दुई सय ६० जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, कर्णालीबाट अन्य प्रदेशमा पठाइएको स्वाबमध्ये भेरी अस्पताल नेपालगञ्जमा ५७, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा २९, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौं १७, कमलबजार नगरपालिका प्रयोगशाला अछाम १० र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुई जनामा संक्रमण पुष्टि भएको हो।

७३ प्रतिशत पुरुष संक्रमित

संक्रमण पुष्टि भएकामध्ये कर्णालीमा सबैभन्दा बढी पुरुषमा संक्रमण दर बढी छ। हालसम्म पुरुष मात्रै पाँच हजार दुई १५ जना अर्थात ७३ प्रतिशत पुगेका छन्।

एक हजार नौ सय १० जना अर्थात २७ प्रतिशत महिला संक्रमित हुन पुगेका छन्। लैंगिक आधारमा महिलाको तुलनामा पुरुषको संख्या बढी संक्रमित भएका छन्।

सक्रिय संक्रमित ६ प्रतिशत

कर्णालीमा संक्रमितको हाराहारीमै निको हुनेको संख्या पनि बढ्दै गएको छ। हालसम्म सात हजार एक सय २५ जनामा पोजेटिभ देखिएकोमा ६ हजार ६ सय ७५ जना निको भएर भइसकेका छन्। यसरी हेर्दा निको हुनेको दर ९३ दशमल ७ प्रतिशत रहेको छ। हाल संक्रमित केस ६ प्रतिशत रहेको छ भने ३ प्रतिशत मृत्यु हुनेको दर रहेको छ।

कर्णालीमा मंसिर मसान्तसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये २२ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेहरुमा दैलेखका पाँच जना पुरुष, सुर्खेतका १२ जनामध्ये ८ जना पुरुष रहेका छन् भने चार महिला छन्। डोल्पामा एक जना पुरुष, कालिकोट र रुकुमपश्चिममा एक÷एक जना महिला र बाँकेका दुई जना पुरुष गरी २२ जनाको मृत्यु भएको छ।

सबैभन्दा कम संक्रमण डोल्पामा

अहिलेसम्म परीक्षण गरिएकाहरुमध्ये संक्रमण पुष्टि हुने सबैभन्दा बढी सुर्खेतका रहेका छन्। सुर्खेतमा तीन हजार ६९ जना छन् भने दैलेखमा एक हजार ६ सय ४२ जना र सल्यानमा ६ सय ३५ जना रहेका छन्।

त्यस्तै, जुम्लामा तीन सय ८७ जना रहेकोमा कालिकोटमा तीन सय २२ जना छन्। रुकुमपश्चिममा दुई सय ५१ जना रहेकोमा जाजरकोटमा एक सय ४१ जना, हुम्लामा ५६, मुगुमा ४१ रहेका छन्। प्रदेशमा सबैभन्दा कम संक्रमित पुष्टि हुने डोल्पामा १६ जना मात्रै छन्।

बाँकी पाँच सय ५० अन्य प्रदेशका रहेका छन् भने भारतबाट काम गर्न आएका पाँच जनामा समेत संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell