बलेवा : कालीगण्डकी नदीको किनारमा आज बिहान बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारे नजिकै कालीगण्डकीको किनारमा परिचय नखुलेकी आन्दाजी ५० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।
नदी छेउमा ढुङ्गामा अड्किएको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीचौकी कुश्मीशेराबाट घटनास्थल पुगेका टोलीले शव उठाएको छ। शवको पहिचान र परीक्षणको काम भइरहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।
शवको पहिचानका लागि प्रहरीले हुलियासहितको तस्वीर मातहतका एकाइमा पठाएको छ। कहीँकतैबाट हराएको वा खबर नआएकाले तत्काल शवको पहिचान गर्न कठिन भएको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए।
महिला मृत फेला
चमेलिया नदी किनारमा आज बिहान एक महिला मृतावस्थामा फेला परेकी छन्। बैतडीको दोगडाकेदार गाउँपालिका–६ चम्तडीस्थित चमेलिया नदी किनारमा महिला मृतावस्थामा फेला परेकी हुन्।
नदी किनारमा मृतावस्थामा फेला परेकी अन्दाजी ३५ वर्षीया महिलाको पहिचान हुन नसकेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए। आज बिहान ८ बजेतिर स्थानीय नैनसिंह गोयलाले नदी किनारमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
गोकुलेश्वर प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ। नदीले बगाएर ती महिलाको शव ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको टोली पनि घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।