काठमाडौं : विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफ (सुडेनी/धाइआमा) हरूको नेताको सूचीमा चार जना नेपाली महिला छनोटमा परेका छन्।
नर्स तथा मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २०२० का अवसरमा अवसरमा विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा तयार पारेको सूचीमा नेपालकी प्रशंसा बूढा लामा, रुकुमणी त्रिपाठी, सुष्मा योञ्जन, र दुर्गा सापकोटा छनोटमा परेका हुन्।
अन्तर्राष्ट्रिय नर्स तथा मिडवाइफ वर्ष मनाइरहँदा विश्व कोभिड-१९ को महामारीसँग जुधिरहेको अवस्थामा नर्स तथा मिडवाइफहरु सम्मानका पात्र रहेको र उनीहरुको सम्मानमा ताली मात्र काफी नभएको इयर अफ नर्स एण्ड मिडवाइको आधिकारिक वेवसाइटमा भनिएको छ।
'पीपीइको अभाव, सहयोगको कमी, अफ्ठ्यारा अनिश्चयताका बीचमा पनि यी महिलाहरुले विरामीहरुको हेरचाहमा अग्रपंक्तिमा रहेर काम गरेका छन्। उनीहरुले विश्वका लाखौँ नर्स तथा सुँडेनीहरुको प्रतिनिधित्व गर्दछन्,' वेवसाइटमा भनिएको छ।
गत मार्चमा विभिन्न आठ वटा श्रेणीहरुमा आधारित रहेर विश्वभरबाट आवेदन खुला गरिएको थियो। विविधता, सार्वजनिक नीति, नविनता विज्ञान र स्वास्थ्य, मानव पुँजी विकास, प्राथमिक स्वास्थ सेवा, नेतृत्व तथा व्यवस्थापन, कम्युनिटी हिरो, युवा नर्स तथा मिडवाइफ लिडरमा आवेदन खुला गरिएको थियो।
जसमध्ये तीन जना कम्युनिटी हिरो तथा एक जना प्राथमिक स्वास्थ्य स्याहारका लागि छनोटमा परेका हुन्।
छनोटमा परेकी प्रसंसा बूढा नेपालको पहिलो ब्याजकी मिडवाइफरी विद्यार्थी हुन्। उनी यो पेशा अंगाल्ने सम्भवत पहिलो महिला हुन्। त्यस्तै मिडवाइफ र नर्स तर्फ कम्युनिटी हिरोको रुपमा छनोटमा परेकी रुकुमणी त्रिपाठी अहिले पनि नर्स र मिडवाइको रुपमा काम गरिरहेकी छन्। कोभिड-१९ को समयमा उनले गर्भवती महिलाहरुलाई नि:शूल्क अनलाइन तथा टेलिफोनमार्फत् काउन्सिलिङ गरिरहेकी छन्।
त्यस्तै कम्युनिटी हिरोको रुपमा छनोटमा परेकी अर्की नेपाली नर्स हुन सुस्मा योञ्जन। नेपालको सीमान्तकृत समुदायबाट नर्स बनेकी योन्जनले युनिसेफमा रहेर विभिन्न जिल्लामा पोषण अधिकृत, प्रशीक्षक तथा जिल्ला संयोजक तथा कन्सल्टेन्टको रुपमा काम गरेकी छन्।
त्यस्तै प्राथमिक स्वास्थ्य स्याहार तर्फ छनोटमा परेकी नर्स दुर्गा सापकोटा युवा स्वास्थ्य पैरवी गर्दै आएकी छन्। क्लिनिकल तथा जनस्वास्थ्य क्षेत्रमा ९ वर्षको अनुभव रहेकी उनले योनिकता, प्रजननस्वास्थ्य, किशोरावस्थाको स्वास्थ्यका क्षेत्रमा काम गरेकी छन्। उनले प्रजनन स्वास्थ्य तथा अधिकारकाक्षेत्रमा चेतना फैलाउँदै लैंगीक समानताको पक्षमा वकालत गर्दै आएकी छन्।
नेपालमा अनुसान्धन, पैरवी तथा अभियानहरुमा सहभागि रहेकी उनी नेपालको नर्सहरुको नेतृत्व गर्ने तहमा पुगेकी छन्। उनी एसिया सेफ अवोर्सन पार्टनरसिप इन नेपालकी फकल पर्सन हुन्। साथै उनले युवा यौन तथा प्रजनन अधिकारका क्षेत्रमा काम गर्ने संस्थाको नेतृत्व गरिरहेकी छन्। कानुन विषयमा स्नातक पढिरहेकी उनी नर्सिङमा स्नातकोत्तर हुन्। साथै उनले महिला स्वास्थ्य तथा विकासमा विशेषज्ञता रहेको छ। उनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा समेत आवद्ध छिन्।
