PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’



रासस

लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’

वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा’ गीत सार्वजनिक भएको छ। प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत सार्वजनिक भएको हो।

उक्त म्युजिक भिडियोमा स्वयं महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ। नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ।

मेरिल्याण्ड राज्यका महावाणिज्यदूतसमेत रहनुभएका महतले पछिल्लो समय निकै चर्चामा रहेको मानुङकोटको थप प्रचारप्रसारका लागि आफूले गीत रचना गरेको जानकारी दिए।

गीतमा भनिएको छ:

हिउँको नदी मर्स्याङ्दी तिरैमा

लालीगुराँस लाइदिउँला शिरैमा

घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा

तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा

उर्लिआयो मादी र सेती

झन् झन् गहिरो बनायो पिरती

घर छ मेरो दमौली माथि मानुङडाँडैमा

तिम्रो माया छ कलेजोमाथि मुटुको माँझैमा

गायक महतको गीतले मानुङको प्रचारप्रसारका लागि थप टेवा पुग्ने व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले बताए। ‘वरिष्ठ गायकले मानुङको प्रचारप्रसारका लागि गीत निकाल्नुभएको छ, यसले मानुङको प्रवर्द्धनका लागि थप योगदान पुग्छ,’ उनले भने।

पछिल्लो समय मानुङमा आन्तरिक पर्यटकको बाक्लो चहलपहल छ। मानुङकोटबाट देखिने सूर्योदय र कुहिरोको दृश्यावलोकनका लागि देशका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका छन्। मानुङकोटबाट पाँच हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिने भएकाले यस ठाउँ पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ। मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ। यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँहरु प्रष्ट देख्न सकिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell