PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

प्रदेश १ का  १८ स्थानीय तहमा स्किम बैंक सञ्चालनको तयारी



पहिलोपोस्ट

प्रदेश १ का  १८ स्थानीय तहमा स्किम बैंक सञ्चालनको तयारी

विराटनगर: प्रदेश १ सरकारले ९ जिल्लाका १८ वटा स्थानीय तहमा 'स्किम बैंक' सञ्चालन गर्ने भएको छ। आगामी माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लगिने तयारी गरिएको छ। सामाजिक विकासमन्त्री जीवन घिमिरेले माघ १ गतेदेखि कार्यक्रम कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्। पालिका केन्द्रित कार्यक्रम भएकाले स्थानीय तहका प्रमुखहरुलाई कार्यक्रम प्रभावकारी बनाउन मन्त्री घिमिरेले आग्रह समेत गरेका छन्।

व्यवसाय गर्ने सोच भएका युवाहरुलाई लक्षित गरी स्किम बैंक सञ्चालनको तयारी भएको हो।

कार्यक्रम सञ्चालनका लागि नमूनाका रुपमा सुनसरीको दुहबी र बराहक्षेत्र,  मोरङको कटहरी र मिक्लाजुङ, झापाको कन्काई र भद्रपुर, पाँचथरको फिदीम र याङबरक, इलामको सूर्योदय र देउमाइ छनोट गरिएको छ। त्यस्तै उदयपुरको बेलका र कटारी, धनकुटाको महालक्ष्मी र धनकुटा नगरपालिका, तेह्रथुमको आठराई र म्याङ्लुङ र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र रावाबेसीलाई छनोट गरिएको सामाजिक विकास मनत्रालय श्रम तथा रोजगार शाखाका अधिकृत प्रदीप गौतमले जानकारी दिए।

सामाजिक विकास मन्त्रालयले स्थानीय तहका प्रमुख, उपप्रमुख, विकास बैंकका प्रतिनिधिसँग शुक्रबार स्किम बैँक सञ्चालन तथा व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रम गरेको छ।

गौतमका अनुसार चालु आर्थिक वर्षमा सीपमूलक तालिम कार्यक्रम सञ्चालनका लागि १० करोड ५० लाख विनियोजन गरिएको छ। तालिम स्थानीय तहको माग बमोजिम सञ्चालन गरिने छ। सामाजिक विकास मन्त्रालय, स्थानीय तह, बैङ्क तथा वित्तीय संस्थाको समन्वय गरी उक्त कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले वित्तीय संस्था नपुगेका स्थानमा वित्तीय संस्था सञ्चालनका लागि पहल गरिदिन पनि मन्त्रालयलाई आग्रह गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell